एमालेको दोस्रो विधान महाधिवेशन सुरु
266 पटक पढिएको
ललितपुर, १९भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजबाट ललितपुरमा सुरु भएको छ। निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य” भन्ने मूल नारासहित शुक्रबार बिहान ललितपुरको सनराइज सभा हलमा महाधिवेशन प्रारम्भ गरिएको हो।
महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। उद्घाटन समारोहमा देशभरका प्रतिनिधि, पर्यवेक्षक, अतिथि तथा पार्टी कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ।
प्रवेश व्यवस्थादेखि मञ्च सजावटसम्म
महाधिवेशन प्रतिनिधि र पर्यवेक्षकलाई गोदावरी मूल सडकदेखि सभा हलसम्म प्रवेश गराउन स्वयंसेवकहरू परिचालन गरिएको थियो। उनीहरूले सुरक्षादेखि बैठक व्यवस्थासम्म सक्रिय सहजीकरण गरेका थिए।
सभा हल भित्र ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्सी राखिएको छ। मञ्चको दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले विशेष सजावट गरिएको छ। मञ्चको दायाँबायाँ टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएका छन्।
यसैगरी, मञ्चको बाँया भागमा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्वीर राखिएको छ भने दायाँ भागमा विश्व कम्युनिष्ट आन्दोलनका नेता कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स र भ्लादिमिर लेनिनका तस्वीर प्रर्दशित गरिएका छन्।
प्रस्तुत हुने प्रतिवेदन र प्रस्ताव
महाधिवेशनमा आज पार्टी अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनसहित विभिन्न वैचारिक तथा संगठनात्मक दस्तावेजमाथि छलफल हुने बताइएको छ। साथै, विधान संशोधन प्रस्ताव पनि प्रस्तुत गरिने एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ।
सहभागिता
महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि सहभागी छन् भने आयोजक समितिको तर्फबाट ३१५ जना सदस्य सहभागी भएका छन्। यसरी जम्मा दुई हजार ३४१ जनाको सहभागिता रहने एमालेले जनाएको छ।
पार्टी नेतृत्वको जोड
पार्टी अध्यक्ष ओलीले महाधिवेशनलाई *“समृद्ध नेपाल, सुखी नेपाली”* को राष्ट्रिय गन्तव्य हासिल गर्न निर्णायक कदमका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार पार्टीको विधानमा आवश्यक संशोधन गर्दै संगठनलाई अझ सुदृढ र जनमुखी बनाइनेछ।







