चेपाङ समुदायको महत्वपूर्ण चाड न्वागी (छोनाम)पर्व आज मनाईदै

325 पटक पढिएको

२२ भाद्र २०८२, आईतवार ०७:०७ सम्पादक: धादिङ न्यूज

धादिङ,२२ भदौ । आज (२२ भदौ) चेपाङको न्वागी पर्व । पर्वको अवसरमा बागमतीको ३ जिल्ला मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिइएको छ । चेपाङहरु न्वागी पर्व सामुहिक रुपमा मनाउन चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कालिखोलामा भेला हुंदै छन् ।

चेपाङ समुदायले आफ्ना खेतबारीमा भित्रिएको अन्नबालीको उपजलाई वर्षभरि पुगोस भन्ने कामना गर्दै आइतवार विशेष चाड न्वागी (पान्देई घ्यासा) धुमधामका साथ मनाउने गर्दछन ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो ।

नेपाल चेपाङ संघका पूर्व केन्द्रिय सचिव तिलक चेपाङका अनुसार अनुसार न्वागी पर्वमा ढ्याङ्ग्रो बजाउने, टीका लगाउने, आपसमा आशीर्वाद थाप्ने र खुसियाली साटासाट गर्ने परम्परा रहिआएको छ। चेपाङ झाक्रीहरुले एक पाखे ढ्याङ्ग्रो बजाएर रातभर फलाक्ने गर्दछन् ।

 पर्वको महत्त्व

चेपाङ समुदाय मुख्यतया प्रकृति धर्म मान्ने भएकाले उनीहरूको जीवनशैली जङ्गलसँग घनिष्ठ रूपमा गाँसिएको छ। गिट्ठा, भ्याकुरजस्ता जङ्गली खाद्य वस्तु जीवननिर्वाहको आधार भएकाले प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने दिनका रूपमा न्वागीलाई विशेष महत्व दिइन्छ।

चेपाङ संघले हरेक वर्ष चितवन, धादिङ र मकवानपुरको चेपाङ बहुल क्षेत्रमा विशेष कार्यक्रम गरेर न्वागी मनाउँदै आईरहेको छ । सामुहिक रुपमा न्वागी मनाउन आउन नभ्याउनेहरुले मौलिक परम्परागतरूपमा घरमा नै बसेर सबै चेपाङ समुदायलाई न्वागी मनाउने गर्दछन् ।

आइतवार न्वागी मनाइन्छ भने भोलिपल्ट सोमबारलाई वारना का रूपमा घरमै बसेर रमाइलो गरिन्छ। “वारनाको दिन कोही चेपाङ काममा निस्कँदैनन्,” पूर्व केन्द्रिय सचिव  चेपाङले बताए।

 सार्वजनिक बिदा 

चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा घोषणा गरेको छ ।

चेपाङ जातिको उद्गम क्षेत्र मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङको सबैभन्दा ठूलो र महान् पर्व छोनाम न्वागीको दिन गाउँपालिकाले तीन दिन सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।