नागरिकलाई आश्वस्त गराउन नसकेको प्रधानमन्त्रीको वक्तव्य
381 पटक पढिएको
काठमाण्डौं । जेन्जी आन्दोलनका क्रममा दर्जनौँ नागरिकले ज्यान गुमाए, सयौँ घाइते भए । देश सहर सडक रक्ताम्य भयो । यति ठूलो त्रासदीपछि प्रधानमन्त्रीले वक्तव्य निकालेर “दुःख लागेको” भन्दै आँसु चुहाएजस्तो देखाए । तर त्यो आँसु सच्चा पीडाको होइन,गोहीको आँसु हो ।
जेन्जी आन्दोलनका क्रममा भएको रगतपातपछि प्रधानमन्त्रीले दिएको वक्तव्यले दुःख प्रकट गरे पनि नागरिकलाई आश्वस्त गराउन सकेको छैन । “घुसपैठ” को दोष लगाएर राज्यको दमनलाई ढाकछोप गर्ने प्रयास गरिएको देखिन्छ ।
किनकि यदि सरकार साँच्चिकै नागरिकको ज्यानप्रति संवेदनशील भएको भए, पहिलो गोली चल्नुअघि नै रोक्ने निर्देशन दिइन्थ्यो । निहत्था, कलिला विद्यार्थीहरूको छातीमा गोली ठोकिएको छ,यो केवल “घुसपैठ” वा “राज्यको सम्पत्ति जोगाउने” बहानाले ढाक्न नसकिने अपराध हो ।
प्रधानमन्त्रीको भाषणमा वास्तविक आत्मआलोचना छैन, बरु दोष अरूको काँधमा सार्ने प्रयास मात्र छ । नागरिकको रगत सडकमा बग्दा “हामीलाई पनि दुःख छ” भन्नु कृतिम सहानुभूति हो, जसलाई जनताले अब विश्वास गर्नेवाला छैनन् ।
गोही जब शिकारलाई चपाउँछ, त्यतिबेला आँसु झर्छ भन्ने भनाइ छ । आजको वक्तव्य त्यही दृष्य हो,राज्यले आफ्नै नागरिकलाई गोलीले चपायो, अनि प्रधानमन्त्रीले दुःखको नाटक गर्दै आँसु झारे । तर जनता मूर्ख छैनन्, जनताले वास्तविकता राम्रैसँग देखेका छन् ।
समवेदना व्यक्त गर्ने मात्र होइन, जवाफदेही स्वीकार गर्ने साहस देखाएको भए प्रधानमन्त्रीको शब्दप्रति जनताले विश्वास गर्ने थिए । तर प्रधानमन्त्रीको वक्तव्यले जनताको घाउमा मलम लगाउने सट्टा अझै नुन छर्किएको अनुभूति गराएको छ ।
प्रधानमन्त्रीले ज्यान गुमाउनु परेका नागरिकप्रति समवेदना प्रकट गरे पनि सत्ताको निर्णय र सुरक्षाकर्मीको गोलीप्रयोगलाई “संविधानिक संस्थाको संरचना जोगाउने” नाममा उचित ठहर्याउने शैली अपनाइयो । तर वास्तविकता के हो भने,निहत्था, कलिला विद्यार्थी र नागरिकहरूको छातीमै गोली हानिएको छ । त्यो क्षणमा उनीहरूले कुनै राज्यसंस्थामा आगजनी गरिरहेका थिएनन्, आफ्नो अधिकारको आवाज उठाइरहेका मात्र थिए ।
वक्तव्यमा सामाजिक सञ्जाल नियमनको कुरा लामो रूपमा जोडिएको छ । यसले सरकारको प्राथमिकता नागरिकको ज्यान भन्दा बढी नियन्त्रण र कानूनी औचित्य देखाउनमा केन्द्रित भएको प्रस्ट हुन्छ ।
जनताको रगत बगेको छ भने सरकारको पहिलो प्रतिक्रिया सीधै जवाफदेही स्वीकार गर्नु, दोषको जिम्मा लिनु, र तत्काल कारबाहीको प्रतिबद्धता जनाउनु पर्ने हो । तर वक्तव्यमा दोष बाह्य “स्वार्थ केन्द्र” र “घुसपैठियाहरू” माथि थोपरेर सरकारलाई निर्दोष देखाउने प्रयास गरिएको छ ।
छानबिन समिति बनाउने घोषणा गरिए पनि अघिल्ला घटनाजस्तै यसको परिणाम केवल कागजी बन्ने हो कि भन्ने आशंका जनतामा छ ।
यस्तो छ प्रधानमन्त्रीको वक्तव्य
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
जेन–जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको छ । हाम्रा छोराछोरी पुस्ताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्नेमा हामी आश्वस्त रहेकामा प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भयो । जेन–जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक थिएन । हामी जेन–जी पुस्ताको मागलाई सुनिरहेका थियौं । तर प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पुर्याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो । प्रदर्शनका आयोजक स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरुले तोडफोड र आगजनी गरे । यसबाट सरकारले राज्यको सम्पत्ति जोगाउन प्रयास गर्नु पर्ने स्थिति उत्पन्न भयो ।
सरकारले सामाजिक सञ्जालमा हुने अवाञ्छित कार्यबाट नागरिकलाई जोगाउन विगत एक वर्ष अघिदेखि नै यसलाई नियमन गर्ने प्रयोजनका लागि सम्बन्धित कम्पनीहरुलाई नेपालमा सूचिकरण गर्न पटक पटक आग्रह गर्दै आएको थियो । कतिपय प्लेटफर्महरुले सरकारको आग्रह अनुरुप नेपालमा दर्ता र सूचिकरण गरे पनि केहीले पटक पटकको आग्रहलाई बेवास्ता गर्दै आएको परिस्थितिमा सम्मानित सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई अनुगमन गर्न सकिनेगरी दर्ता र सूचिकरण गरेर मात्र सञ्चालन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो ।
सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै नीति लिएको थिएन र छैन । अदालतको आदेश बमोजिम अन्तिम पटक सूचिकरणका लागि गत हप्ता सरकारद्वारा गरिएको आह्वानको समेत बेवास्ता भएपछि सूचिकरण हुनासाथ सञ्चालन हुने गरी त्यसलाई निस्कृय गरिएको थियो । बीसौं वर्षदेखि सामाजिक सञ्जाल प्रयोग गर्दै आएको हाम्रो नयाँ पुस्तालाई पक्कै पनि यसले असर पारेको थियो । राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचिकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने छ । यसका लागि प्रदर्शन गरिरहनु पर्ने थिएन । र, गरिरहनु पर्ने स्थिति रहन दिइने छैन ।
आजको प्रदर्शनको क्रममा नागरिकहरुले ज्यान गुमाउनु परेकोमा म अत्यन्तै दुःखी भएको छु । यस अकल्पनीय घटनाबाट परिवारका सदस्य गुमाउनु भएका परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्ने छ र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने छ । आजको सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारण समेतको छानविन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरु हुन नदिन चालिने कदमहरुको सिफारिस समेत गर्नका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन गरिने कुराको विश्वास दिलाउन चाहन्छु ।







