सात दूतावासद्वारा जेन्जी आन्दोलनको हिंसामा गम्भीर दुःख व्यक्त, शान्तिपूर्ण समाधानको अपिल

205 पटक पढिएको

२४ भाद्र २०८२, मंगलवार ०७:२८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । काठमाडौँस्थित अमेरिकासहित सात विदेशी दूतावासहरूले जेन्जी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन अपिल गरेका छन्।

सोमबार राति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले संयुक्त विज्ञप्ति जारी गर्दै परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न र मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं। यी घटनाहरूले नागरिकको ज्यान जाने दुःखद अवस्था सिर्जना गरेकोमा हामी संवेदनशील छौं। पीडित परिवारजन र घाइते सबैलाई हार्दिक समवेदना तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।”

साथै दूतावासहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन र मौलिक अधिकारको सुरक्षा सुनिश्चित गर्न जोड दिएका छन्।