‘सपना खरानी बनाइयो, तर इमान खरानी हुँदैन’-कोमल वली

255 पटक पढिएको

२६ भाद्र २०८२, बिहीबार ११:०१ सम्पादक: धादिङ न्यूज

दाङ -जेनजी आन्दोलनका क्रममा एमाले नेतृ तथा चर्चित गायिका कोमल वलीको घर र होटलमा आगजनी भएको छ। उक्त घटनापछि वलीले सामाजिक सञ्जालमार्फत लामो र भावुक स्टाटस लेख्दै आन्दोलनको नाममा भएको तोडफोडप्रति तीव्र आपत्ति जनाएकी छन्।

वलीले आफ्ना पसिना, आँसु र सपनाले बनेको “कोमल होटल” खरानी पारिएको उल्लेख गर्दै भनिन्-“हामी बामे सर्दै थियौँ तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो। ४० जनाले रोजगारी पाएका थिए, उनीहरूको भविष्य पनि खोसियो।”

उनले यो कामलाई आन्दोलन नभई योजनाबद्ध अपराध करार दिँदै “अरूको पसिना रगत लुटेर कहिल्यै प्रगति हुँदैन” भनेकी छन्।

वलीले यसअघि पनि माओवादी द्वन्द्वका बेला आफ्नो घर लुटिएको, बम हानेर जलाइएका घटनाहरू स्मरण गरिन्। उनले लेखेकी छन्, “२०६१ सालतिर माओवादीहरूले मेरो घर जलाएका थिए, सात वर्षसम्म जग्गा कब्जा गरेका थिए। अब फेरि नयाँ पुस्ताले जेन-जीको नाममा त्यही पाप दोहोर्यायो।”

उनले आफ्नो इमान र निष्ठालाई जोड दिंदै सबै नेतामाथि “भ्रष्ट” को आरोप लगाउने प्रवृत्तिलाई अस्वीकार गरिन्।

“मैले कहिल्यै भ्रष्टाचार गरेकी छैन, उपचार खर्चका नाममा सुविधा लिएको छैन, टिकट काट्न लगाएको छैन, कसैको चिया खाएको छैन। यदि भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने गोली खान तयार छु,”* उनले लेखेकी छन्।

राजनीतिमा प्रवेश गर्नुको कारणबारे वलीले भनिन्, “म नेकपा एमालेमा यस आशाले गएँ कि परिवर्तन सम्भव हुन्छ। करिब ३० हजार नागरिकको भावना जित्न सकेँ, त्यो नै मेरो जीवनको प्रेरणा हो।”

उनले चुनावमा जित वा हारभन्दा नागरिकको विश्वासलाई नै आफ्नो सबैभन्दा ठूलो सम्पत्ति भनेकी छन्।

जेन-जी आन्दोलनमा निर्दोष सर्वसाधारण र बालबालिकाको मृत्यु भएको घटनामा वलीले गहिरो दुःख प्रकट गरिन्।

“निर्दोष नानीबाबुले अनाहकमा ज्यान गुमाउँदा मेरो छाती चिरिएको छ। आन्दोलनमा शहादत प्राप्त गर्नुभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्छु, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”

वलीले आफ्नो सम्पत्ति जलाउने कार्य नियतवश, योजनाबद्ध अपराध भएको दाबी गर्दै दोषीलाई कानुनको कठघरामा उभ्याउन आग्रह गरिन्।

“तिमीहरूले गल्ती मात्र गरेनौ, महागल्ती गर्यौ। यो देश बाँकी रहने छ, कानुनी शासन चल्ने छ र तिमीहरू कानूनको कठघरामा उभिनुपर्नेछ,” उनको भनाइ छ।

कोमल वलीको यो स्टाटस केवल व्यक्तिगत पीडा व्यक्त गर्ने भावनात्मक टिप्पणी मात्र नभई, अहिलेको आन्दोलनप्रति एउटा भिन्न दृष्टिकोण पनि हो। उनले आन्दोलनको उद्देश्य र त्यसलाई आवरण बनाएर गरिएको हिंसात्मक गतिविधिबीच स्पष्ट रेखा कोरेकी छन्। यसरी, वलीको भनाइले आन्दोलनलाई समर्थन गर्ने तर हिंसात्मक गतिविधि अस्वीकार गर्ने मध्यमार्गी आवाजलाई उजागर गरेको देखिन्छ।