६ पूर्वप्रधानमन्त्रीलाई सक्रिय राजनीतिबाट अवकाश गराउने प्रयासमा दोश्रो पुस्ता झलनाथ तयार, बाबुराम सकारात्मक, अरुले निर्णय दिन बाँकी
190 पटक पढिएको
काठमाडौं – भ्रष्टाचार र सरकारी बेथितिविरुद्ध जेन–जी पुस्ता सडकमा उत्रिएपछि देश गम्भीर राजनीतिक संकटमा छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि उत्पन्न शून्यतालाई व्यवस्थापन गर्न राष्ट्रपति रामचन्द्र पौडेल सक्रिय भएका बेला ठूला दलका दोस्रो पुस्ताका नेताहरू भने नयाँ बाटो खोज्दै छन्।
स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का दोस्रो तहका नेताहरूले ६ जना पूर्वप्रधानमन्त्रीलाई सक्रिय राजनीतिबाट अवकाश गराएर नयाँ राजनीतिक वातावरण बनाउन पहल थालेका छन्।
उनीहरू अवकाशको सूचीमा केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई रहेका छन्।
संयुक्त वक्तव्यको तयारी
चार दलका दोस्रो पुस्ताका नेताहरूले यी ६ पूर्वप्रधानमन्त्रीलाई संयुक्त वक्तव्यमार्फत् “सक्रिय राजनीतिबाट अवकाश” घोषणा गर्न लगाउने तयारी गरिरहेका छन्। उनीहरूको तर्क छ – अब नयाँ पुस्तालाई जिम्मेवारी दिएर मुलुकलाई अगाडि बढाउनुपर्ने बेला आएको छ।
कम्युनिष्ट पृष्ठभूमिका एक पदाधिकारीका अनुसार, “हामी उनीहरूलाई सभ्य अवतरण गराएर अब देश राम्रोसँग चलाउन दिनुपर्ने होमवर्क गर्दैछौँ।”
खनाल तयार, बाबुराम सकारात्मक
यो प्रस्तावलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले सहर्ष स्वीकार गरिसकेको बताइएको छ।
त्यस्तै, डा. बाबुराम भट्टराई पनि सकारात्मक देखिएका छन्। *”यो राम्रो प्रस्ताव हो,”भन्दै उनले पनि अवकाशको पक्षमा प्रतिक्रिया दिएको स्रोतले जनाएको छ।
कांग्रेसभित्र छलफल
नेपाली कांग्रेसभित्र पनि यो विषयमा अनौपचारिक छलफल भएको छ। केही पदाधिकारीले प्रस्तावलाई सकारात्मक भन्दै, अरू दलका पूर्वप्रधानमन्त्रीहरू सहमत भए सभापति शेरबहादुर देउवासमक्ष औपचारिक रूपमा राख्ने तयारी गरेका छन्।
बाँकी तीन नेताको निर्णय निर्णायक
यो प्रयास सफल बनाउन ओली, प्रचण्ड र माधव नेपाल अवकाशमा सहमत हुनुपर्ने देखिन्छ। उनीहरू तयार भए मात्र दोस्रो पुस्ताका नेताहरूको पहलले सार्थकता पाउने छ।







