सिंहदरबार आगजनीमा एक हजारभन्दा बढी सरकारी सवारीसाधन नष्ट

320 पटक पढिएको

१ आश्विन २०८२, बुधबार ०६:२८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । राजधानीको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासका सरकारी निकायमा अराजक समूहले गरेको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन्। गत भदौ २३ गते भएको सरकारी दमनपश्चात् भदौ २४ मा प्रदर्शनकारीको भीडले गरेको आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे र ६०१ वटा दुईपाङ्ग्रे गरी एक हजार ४२ वटा सवारीसाधन पूर्ण रूपमा नष्ट भएका प्रारम्भिक तथ्यांक सार्वजनिक गरिएको छ।

सरकारी निकायले दिएको विवरणअनुसार वास्तविक क्षति अझै बढी हुने अनुमान गरिएको छ। तोडफोड मात्रै भएका सवारीसाधनको विवरण यसमा समावेश गरिएको छैन। सम्पूर्ण आर्थिक मूल्याङ्कन गर्न अझै समय लाग्ने बताइएको छ।

सवारीसाधन सडक विभागका मोटरसाइकल र स्कुटर गन्नै नसकिने गरी जलेका छन्। सर्वोच्च अदालतका ५१ वटा गाडी र अनगिन्ती मोटरसाइकल/स्कुटर, सहरी विकास तथा भवन निर्माण विभागका ५० गाडी र करिब दुई सय मोटरसाइकल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका ४७ गाडी र ७४ मोटरसाइकल/स्कुटर जलेर नष्ट भएका छन्।

त्यस्तै अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकल/स्कुटर नष्ट भएको प्रवक्ता टङ्कप्रसाद पाण्डेले जानकारी दिनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३३ साना गाडी, दुई बस र ३६ मोटरसाइकल पनि जलेर नष्ट भएका छन्।

यी सरकारी निकायसँगै पार्किङ गरिएका निजी सवारीसाधनसमेत आगलागीमा परेको तर विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ। जेनजी आन्दोलन सुरु भएपछि मन्त्रालयका गाडीहरू निजी घरमा नराखी सिंहदरबार परिसरमै पार्किङ गर्न निर्देशन दिइएको भए पनि त्यही क्षेत्रमा भएको आगजनीले अकल्पनीय क्षति निम्त्याएको जनाइएको छ।