रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

196 पटक पढिएको

२ आश्विन २०८२, बिहीबार २१:३४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनप्रति पार्टीको नैतिक समर्थन रहेको जनाएको छ। तर आन्दोलनका क्रममा भएको विध्वंस, लुटपाट र तोडफोड भने पार्टीको राजनीतिक संस्कृति नभएको स्पष्ट पार्दै संवेदनशील अवस्थालाई सम्बोधन गर्न ‘सद्भाव तथा सहकार्य अभियान’ सुरु गर्ने निर्णय गरेको छ।

विहीबार बसेको सचिवालय बैठकले जेनजी आन्दोलनसँग सम्बन्धित विषय र पार्टीका आगामी कार्यक्रमबारे निर्णय गरेको हो।

बैठकका मुख्य निर्णयहरू यसप्रकार छन् :

* भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनप्रति रास्वपाको विभिन्न तहबाट नैतिक ऐक्यबद्धता रहने तर विध्वंसकारी गतिविधि पार्टीको मार्गदर्शक संस्कृति नभएको पुनः स्पष्ट।
* प्रवासी नेपालीलाई मतदान अधिकार दिने सरकारको चासोप्रति स्वागत गर्दै दूतावास, कन्सुलेट र अन्तर्राष्ट्रिय विमानस्थलमा बायोमेट्रिक सेवा उपलब्ध गराउन प्रस्ताव।
* जेनजी पुस्ताका धेरै नागरिक मतदाता नामावलीमा नपरेकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मतदाता नामावली दर्ता अभियान सञ्चालन गर्ने निर्णय।
* पार्टीको केन्द्रीय समिति बैठक असोज ७ गते बस्ने र विस्तारित बैठकमार्फत आगामी कार्यदिशा तय गर्ने।
* फागुन ७–९ गते हुने भनिएको ऐतिहासिक महाधिवेशन निर्वाचन मिति नजिकिँदा आवश्यक छलफल र निर्णय विस्तारित बैठकमार्फत गर्ने।