संविधान दिवस – राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना
247 पटक पढिएको
काठमाडौँ, असोज ३ । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै संविधानको मर्म, भाव र मूल्यलाई व्यवहारमा उतार्न सबैलाई आह्वान गर्नुभएको छ।
राष्ट्रपति पौडेलले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँधेको उल्लेख गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवादउन्मुख अर्थतन्त्र निर्माण संविधानको लक्ष्य भएको उल्लेख गर्दै सेवा, सुविधा र सामाजिक सुरक्षामा सबैको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
संविधानको संरक्षणसहित देशको असीमित सम्भावनालाई उपयोग गरेर जलस्रोत, ऊर्जा र सुशासनमार्फत छिट्टै समुन्नत राष्ट्रको अग्रस्थानमा पुग्न सक्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
यसैगरी उपराष्ट्रपति यादवले संविधानलाई *समावेशिता, विविधता र दीर्घ सङ्घर्षको ऐतिहासिक उपलब्धि* बताउँदै संघीय संरचना सुदृढीकरण, मौलिक हकहरूको कार्यान्वयन, शक्ति-स्रोतको न्यायोचित बाँडफाँट र प्रदेश–स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सबैको सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो।
‘जेनजी’ आन्दोलनको प्रसङ्ग समेट्दै उहाँले संविधानको लचकता, समाधानमुखी चरित्र र समावेशीपनलाई पुनःपुष्टि भएको बताउनुभयो। दुवै शीर्ष नेताले ज्ञात–अज्ञात सहिद, आन्दोलनकारी तथा लोकतान्त्रिक आन्दोलनका सहभागीप्रति उच्च सम्मान व्यक्त गर्दै संविधान दिवसले राष्ट्रिय एकता, न्याय, समानता र समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।







