जेनजी आन्दोलनका क्रममा भागेका आठ हजार ८१६ कैदीबन्दी अझै फरार
369 पटक पढिएको
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका कारागार र बालसुधारगृहबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएका छन्।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार मुलुकका २७ कारागार र नौ बालसुधारगृहबाट कैदीबन्दी भागेका हुन्।
कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ जना कैदीबन्दी र १ हजार ४२२ मध्ये ९६४ जना बालसुधारगृहका कैदीबन्दी भागेका थिए।
भाग्नेहरुमा झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरका कैदीबन्दी रहेका छन्।
त्यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटीका बालसुधारगृहबाट समेत कैदीबन्दी भागेका थिए।
अहिलेसम्म कारागारबाट भागेका मध्ये ५ हजार ४९५ र बालसुधारगृहबाट भागेकामध्ये २४४ कैदीबन्दी पक्राउ परेका छन्।
तर अझै ८ हजार ८१६ कैदीबन्दी फरार रहेका र उनीहरुको खोजी कार्य जारी रहेको विभागले जनाएको छ। नेपाल प्रहरीले पनि फरार कैदीबन्दीहरूलाई पक्राउ गर्न देशव्यापी अभियान चलाइरहेको जनाएको छ।







