शुरु भयो बडादसैं आज पहिलो दिन घटस्थापना
268 पटक पढिएको
काठमाडौँ, ६असोज – हिन्दूहरूको महान् पर्व बडादसैं आज सोमबार घटस्थापनासहित सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाइने यो पर्वको पहिलो दिन घरघरमा विधिपूर्वक घट स्थापना गरी जमरा राख्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको साइत बिहान ९:१३ बजे रहेको छ। नित्यकर्म समाप्त गरी गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा कलश स्थापना गरी जौ रोप्ने गरिन्छ। विजयादशमीका दिन यसै जमरालाई देवी प्रसादका रूपमा ग्रहण गरिन्छ।
नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीसहित नवदुर्गाको पूजा गर्ने परम्परा छ। शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री गरी नौ दिन नौ रूपमा दुर्गा आराधना गरिन्छ। सप्तमीका दिन फूलपाती भित्र्याइन्छ भने अष्टमी र नवमीका दिन विशेष बलिपूजा गर्ने चलन छ।
काठमाडौँको हनुमानढोकास्थित दसैं घरमा पनि आजै घटस्थापनासहित पूजा आराधना सुरु भएको छ। महानवमीका दिन त्यहाँ बोका र राँगाको सामूहिक बलि दिने परम्परा रहिआएको छ।
यस वर्ष विजयादशमी असोज १६ गते परेको छ। समितिले देवी विसर्जनको साइत बिहान ९:२३ बजे र मान्यजनबाट टीका–जमरा ग्रहण गर्ने उत्तम साइत बिहान ११:५३ बजे तोकेको छ। कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्ने धार्मिक मान्यता छ।
दसैंलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। यसैसँगै परिवारबीच पुनर्मिलन, आपसी भेटघाट र आशीर्वाद ग्रहण गर्ने परम्पराले यो पर्वलाई राष्ट्रिय उत्सवका रूपमा स्थापित गरेको छ।







