जेनजी आन्दोलनबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन
213 पटक पढिएको
काठमाडौँ, –भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको प्रहरीको गोली प्रहार र आन्दोलनकारीको आगजनीबारे छानबिन गर्न सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मार कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।
आयोगलाई तीन महिनाभित्र दोषी पहिचान गरी कारबाहीको सिफारिस गर्न म्याद दिइएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
भदौ २३ गते आन्दोलनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा दर्जनौँको मृत्यु भएको थियो भने २४ गते संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयसहित निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी भएको थियो। दुई दिनमा ७४ जनाको ज्यान गएको सरकारले जनाएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली प्रहार भएको दाबी गरेका थिए। तर पूर्वडीआईजी हेमन्त मल्लका अनुसार प्रहरीसँग अर्धस्वचालित एसएलआर र इन्सास हतियार मात्र रहेको र ती नै प्रयोग गरिएको हुनसक्ने बताए।
आन्दोलनका क्रममा करिब १२ सय हतियार र झण्डै एक लाख गोली आन्दोलनकारीले लुटेको प्रहरीको भनाइ छ। घटनामा घुसपैठ भएको भन्दै दुवै पक्षले आरोप–प्रत्यारोप गरिरहेका छन्।
अब गठन भएको आयोगले घटनाको सत्य–तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको सिफारिस गर्नेछ।







