मुग्लिन–नारायणगढ सडक बिहान ५ बजेदेखि एकतर्फी सञ्चालनमा
274 पटक पढिएको
भरतपुर, ६ असोज । गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडक आज बिहान ५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ।
इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा लगातार पहिरो खसिरहेकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म यातायात पूर्ण रूपमा रोकिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध बनेको सडक आइतबार दिउँसो अबेर मात्र आंशिक रूपमा खुलेको हो।
सोमबार राति ८ बजे फेरि पहिरो खस्दा बाटो अवरुद्ध भए पनि राति नै पन्छ्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए।
सडकमा सवारीसाधनको भीड भएकाले आफ्नो लेन प्रयोग गरेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। दुई दिनदेखि अलपत्र परेका यात्रु गन्तव्यतर्फ जाँदैछन्।
मुग्लिन–नारायणगढ सडकमार्गमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन गुड्ने भएकाले यस खण्ड अवरुद्ध हुँदा यात्रुहरू मारमा पर्ने गरेका छन्। सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा नआएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।







