दसैँ मान्न पाँच दिनमा काठमाडौँबाट बाहिरिए करिब २ लाख यात्रु

148 पटक पढिएको

६ आश्विन २०८२, सोमबार १३:३३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ — असोज १ गतेदेखि ५ गतेसम्म करिब १ लाख ८९ हजार २१८ यात्रु काठमाडौँ उपत्यकाबाट दसैँ मनाउन घर फर्किएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २९ हजार ३६० सार्वजनिक सवारीमार्फत ती यात्रुहरू बाहिरिएका हुन्।

कार्यालयका डिएसपी लोकेन्द्रसिंह गुरुले अध्ययन, व्यापार र रोजगारीका लागि उपत्यकामा रहेका नागरिक बडादसैँका लागि घर फर्कन थालेको बताए। यात्रुहरू मुख्यत: थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट बाहिरिएका हुन्।

असोज १ गते ३४,५५६, असोज २ गते ३६,१००, असोज ३ गते ४०,५५५, असोज ४ गते ३४,८७९ र असोज ५ गते ४३,१२४ यात्रु बाहिरिएको तथ्याङ्कमा उल्लेख छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले राजमार्गमा पहिरोका कारण यात्रामा समस्या भएको बताए। विशेषगरी मुग्लिन–नारायणघाट सडकखण्डमा अवरोध हुँदा बसहरू घण्टौँ रोकिनुपरेको उनको भनाइ छ।

नयाँबसपार्कबाट पनि यात्रुको चाप बढेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए। उनका अनुसार सामान्यतया दैनिक ४–५ हजार मात्र यात्रु बाहिरिने गरेकोमा हाल यो सङ्ख्या बढेर दैनिक १५ हजारभन्दा बढी पुगेको छ।