जवाङ खोलामा पहिरो पन्छाउन कम्तीमा ५ घण्टा लाग्ने
361 पटक पढिएको
धादिङ – धादिङको जवाङखोला नजिकै ठूलो पहिरो खस्दा आज बिहानैदेखि यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खोलामा गएरातिदेखि लगातार पहिरो खसिरहेको थियो। प्रहरीका अनुसार राति खसेको माटो–ढुंगा ८० प्रतिशत हटाइसकिएको अवस्थामा आज बिहान करिब साढे ५ बजे माथिबाट ठूलो पहाडै खस्दा बाटो पुनः पूर्ण रूपमा बन्द भएको हो।
धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालले “माथिबाट अझै चिरा परेको पहाड देखिएको र ठूलो पहिरो खस्ने जोखिम कायम रहेको” बताए। उनका अनुसार बाटो खुलाउन कम्तीमा पाँच घण्टा भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ। हाल तीनवटा मेसिन परिचालन गरिएका छन् तर निरन्तर पहिरो खसिरहेको कारण काम चुनौतीपूर्ण भएको छ।
यता, नारायणगढ–मुग्लिङ सडक खण्डको तुइन खोलामा पनि आज बिहानै ठूलो पहिरो खसेर बाटो अवरुद्ध भएको छ।
डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइन खोलामा खसेको पहिरो तुलनात्मक रूपमा सानो भएकाले करीब एक घण्टामै पन्छाउन सकिने देखिएको छ।
योसँगै काठमाडौँ र तराईबीचको मुख्य जीवनरेखा मानिने पृथ्वी राजमार्ग दुबै तर्फ अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्। लामो दूरीका सवारीसाधन राजमार्गकै विभिन्न स्थानमा रोकिएका छन् भने आवतजावतमा कठिनाइ भएको छ।







