जवाङखोलामा सडक खुल्यो, मुग्लिन–नारायणगढ अझै बन्द
308 पटक पढिएको
धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको जवाङखोलामा बुधबार राति करिब पौने ९ बजे खसेको पहिरोका कारण अवरुद्ध भएको सडक बिहीबार बिहानदेखि सञ्चालनमा आएको छ। रातभर पहिरो पन्छाउने काम गरेर बिहानैदेखि दुईतर्फी सवारी चल्न थालेको धादिङ प्रहरीले जनाएको छ। तर पहिरो खस्ने जोखिम अझै कायम भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
यसैबीच धादिङकै धार्के–सितापाइला सडकखण्डको ठूलोखोलामा पनि पहिरोले सडक अवरुद्ध पारेको छ।
यता, मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा मंगलबारदेखि बन्द भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन। ठूलो पहिरोका कारण पन्छाउने काम कठिन भएको चितवन प्रहरीले जनाएको छ। लगातार पहिरो खसिरहेकाले अझै केही दिन अवरुद्ध हुने सम्भावना देखिएको छ।
प्रहरीका अनुसार वैकल्पिक सडकमार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको छ। साना गाडीका लागि जुटपानी–शक्तिखोर–मायाटार हुँदै मलेखु, र नौबिसे–हेटौंडा हुँदै त्रिभुवन राजपथ प्रयोग गर्न सकिनेछ। ठूला गाडीले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकाली वा कान्ति लोकपथ प्रयोग गर्न सक्नेछन्।
चितवनबाट पोखरा जाने सवारीले बुटवल हुँदै पोखरा जानुपर्नेछ भने साना गाडी गैंडाकोट–भिमाद हुँदै तनहुँ निस्कन सक्नेछन्। तर यी वैकल्पिक सडक साँघुरा र धेरै ठाउँमा कच्ची भएकाले जाम हुने समस्या बढिरहेको प्रहरीले जनाएको छ।







