दशैं–तिहार सुरक्षित र मर्यादित ढंगले मनाउन धादिङ प्रशासनको आग्रह
361 पटक पढिएको
धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले विजया दशमी, तिहार र छठ पर्वको अवसरमा जिल्लावासीलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण ढंगले चाडपर्व मनाउन आग्रह गरेको छ । नेपालीहरूको महान् चाडलाई उल्लासपूर्वक मनाउन सम्पूर्ण नागरिकलाई शुभकामना दिँदै प्रशासनले बजार व्यवस्थापनदेखि सवारी–साधन सञ्चालन, सामाजिक सद्भाव, विद्युत् प्रयोग र चाडपर्वमा देखिने सम्भावित समस्या रोकथामका लागि विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रशासनले चाडपर्वमा अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने वा नक्कली सामान बिक्री वितरण गर्ने गतिविधि नगर्न चेतावनी दिएको छ। साथै, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु चढाउने, मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने, तोकिएको भन्दा बढी भाडा असुल्ने र ट्राफिक नियम उल्लंघन नगर्न पनि निर्देशन दिइएको छ।
यस्तै धार्मिक, जातीय वा सामाजिक सद्भाव खलल पुग्ने खालका गतिविधि नगर्न, हल्ला फैलाउने, झुठा समाचार सम्प्रेषण गर्ने, आतिशबाजी गर्ने, पटका पड्काउने, जुवातास खेलने, सार्वजनिक स्थानमा मदिरा सेवन गर्ने वा होहल्ला गर्ने कार्य नगर्न सबैलाई सचेत गराइएको छ। प्रशासनले चाडपर्वलाई अनुशासित, व्यवस्थित र मर्यादित ढंगले मनाउन विशेष जोड दिएको छ।
दीपावली र छठ पर्वका बेला दियो वा विद्युतिय बत्ती प्रज्वलन गर्दा आगलागी हुन सक्ने भएकाले सावधानी अपनाउन पनि अपिल गरिएको छ। सूचनामा भनिएको छ, “यदि कसैले विपरीत गतिविधि गरेको देखिएमा नजिकैको प्रहरी वा सुरक्षानिकायलाई तुरुन्त जानकारी दिनुहोस्।”
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले हस्ताक्षर गरेको सूचनामा निर्देशन उल्लंघन गर्नेहरूमाथि तत्काल कानूनी कारबाही हुने चेतावनीसमेत दिइएको छ।








https://shorturl.fm/n0Dib
https://shorturl.fm/1xTh3