आज फूलपाती भित्र्याउँदै,दशैंको वातावरण थप उत्साहपूर्ण

256 पटक पढिएको

१३ आश्विन २०८२, सोमबार ०६:२० सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपालीहरुको महान् पर्व दसैं आजदेखि झन् उत्सवमय बनेको छ । आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज देशभर घरघरमा शास्त्रीय विधिअनुसार भित्र्याइँदैछ ।

घटस्थापनादेखि सुरु भएको दुर्गा पूजामा आज विशेष महत्व दिइन्छ । उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोक र मानवृक्षलाई एकसाथ भित्र्याएर ‘नवपत्रिका’ स्वरूप देवीको आराधना गरिन्छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका प्रा. डा. देवमणि भट्टराईका अनुसार यी नौवटा वस्तु नवदुर्गाका पार्षद देवीहरूको प्रतीक मानिन्छन् । केरामा ब्रह्माणी, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, उखुमा कालिका लगायतका देवीहरूको आवाहन गरी पूजा गर्ने परम्परा रहिआएको छ ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट विशेष विधिपूर्वक ल्याइने फूलपाती भित्र्याउने परम्परा अझै निरन्तर छ । गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका पूजाका सहभागीहरूले फूलपाती बोकेर ल्याउने र त्यसपछि जीवनपुरदेखि काठमाडौँको जमलसम्म ब्राह्मण पूजारीहरूले ल्याउने चलन छ ।

 जमलसम्म पुजारी र ब्राह्मणद्वारा ल्याइने फूलपाती निजामती सेवाका अधिकारी, गुर्जु पल्टन, बाजागाजा र सांस्कृतिक झाँकीसहित दरबारसम्म पुर्याइन्छ ।

राजतन्त्र कालमा राजा स्वयं सहभागी हुने गर्थे भने गणतन्त्रपछि संस्कृति मन्त्रीको उपस्थितिमा यो संस्कार निरन्तर हुँदै आएको छ । यस वर्षको फूलपाती सोमबार साँझ ४:३० बजे भित्र्याइने कार्यक्रम तय गरिएको छ ।

यससँगै राजधानीलगायत देशभर दशैंको वातावरण थप उत्साहपूर्ण बनेको छ ।