त्रिपुरासुन्दरी गाउँपालिकालाई स्थानीयवासीको खुल्ला पत्र, गाउँको बाटो किन मर्मत गरिएन ?

361 पटक पढिएको

१३ आश्विन २०८२, सोमबार १३:१२ सम्पादक: धादिङ न्यूज

धादिङ । दशैंलाई लक्षित गरी मोटरबाटो सरसफाई नगरिएपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का शेर वहादुर भण्डारीले सामाजिक सञ्जाल मार्फत पालिकाका अध्यक्ष र जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक अभियन्ता भण्डारीले गम्भीर प्रश्न उठाउँदै स्थानीयवासीको तर्फबाट पालिकालाई  खुला पत्र पठाएका हुन् ।

खुला पत्रमा पालिकाभित्र हालसम्म कति किलोमिटर पक्की, ग्राभेल र कच्ची सडक निर्माण भएको छ भन्ने तथ्यांक सार्वजनिक गर्न माग गरिएको छ। दशैंको समयमा वडाहरुलाई रकम भाग लगाएर मोटर बाटो सफा गर्ने चलनलाई “नौटंकी” को संज्ञा दिँदै यसले घर–घरमा माटो–गोबरले लिपपोत गर्ने संस्कृतिसँग फरक परिणाम दिन नसकेको आरोप पत्रमा उल्लेख छ।

वडा नं. ३ को भदौरेदेखि माथिल्लो आहाले जोड्ने करिब ५०० मिटर सडक २०७९ सालमा दशैंमा सफा नगरिँदा मृतक बिष्णुबहादुर र नीरमायाको शव ल्याउन ठूलो कठिनाइ भएको उदाहरणसमेत पत्रमा प्रस्तुत गरिएको छ। यस सम्बन्धमा सो बाटो नखोल्दा राज्यकोषमा रकम बचत भयो वा घाटा भयो भन्ने प्रश्न वडा अध्यक्षलाई सोधिएको छ।

त्यसैगरी पिङ्गडाडा (वडा ३) देखि सुनपोखरी (वडा ५) जोड्ने देउती खोला क्षेत्र र खन्नेचौर जाने बाटो सफा नगरिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। “खोलाले बाटो बगाएको निहुँमा सफाइ क्षेत्राधिकार नभएको हो ? रकम नपुगेर वा घुस खान नपाएर हो ?” भन्ने प्रश्नसमेत खुला पत्रमा उठाइएको छ।

खुला पत्रमा २०८२ असोज १९ गते कार्यालय समयभित्र माग गरिएको सडक सफाइ नभएमा पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यलाई पिङ्गडाडा–सुनपोखरी क्षेत्र प्रवेश निषेध गरिने चेतावनी दिइएको छ। साथै वडा र पालिका कार्यालयमा संवाद, जुलुस, धर्ना र ताला लगाउनेजस्ता दबाबमूलक कार्यक्रम गरिने जनाइएको छ।

स्थानीयले जनप्रतिनिधिलाई नागरिकको गुनासो वा विरोध मात्र नभई सुधारको अवसरका रूपमा लिन आग्रह गरेका छन्।