नवरात्रको आज अष्टमी ,महागौरीको पूजा गरिँदै
372 पटक पढिएको
काठमाडौँ । बडादशैं एवं नवरात्रको आठौँ दिन आज आश्विन शुक्ल अष्टमीका अवसरमा महागौरी देवीको पूजाआराधना हुँदैछ । वैदिक सनातनी परम्पराअनुसार प्रत्येक वर्ष यस दिन देवी महागौरीको विशेष पूजा गरिन्छ । तर यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिनमै अष्टमी पर्व परेको धर्मशास्त्रविद्हरूले बताएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज पूजाआराधना गर्नुपर्ने दिन हो ।
किंवदन्तीअनुसार पार्वतीको शरीर तपस्याका कारण कालो बनेको थियो । भगवान् शिवले ख्यालमा ‘ए काली’ भनेपछि पार्वतीले पुनः कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकी थिइन् । त्यसयता उनी महागौरी नामले परिचित भइन् । पुराणका वर्णनअनुसार उनी सेतो वस्त्रधारी, वृषवाहिनी र चार हातसहितको शान्त स्वरूपमा आराधित हुन्छिन् ।
यस वर्षको नवरात्र आश्विन ६ गते सोमबार घटस्थापनासँगै सुरु भएको थियो । त्यस दिन शैलपुत्री देवीको पूजाआराधना गरिएको थियो । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो र पाँचौँ दिन कुष्माण्डा, छैटौँ दिन स्कन्दमाता, सातौँ दिन कात्यायनी, र आठौँ दिन कालरात्रि देवीको विधिपूर्वक आराधना गरिएको थियो । सोमबार अर्थात् सप्तमीका दिन फूलपाती भित्र्याइएको थियो ।
आज अष्टमीका दिन महागौरी देवीको पूजा भइरहेको छ भने भोलि नवमीका दिन सिद्धिदात्री देवीको पूजा हुनेछ । धार्मिक विश्वासअनुसार नवरात्रमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायतका देवी स्तोत्रको पाठ, मन्त्रजप र अनुष्ठान गर्दा शक्ति, विद्या, ऐश्वर्य र मोक्ष प्राप्त हुन्छ ।
नवरात्रभर देशभरका शक्तिपीठ र देवीस्थानमा विशेष चहलपहल रहने गर्छ । राजधानी उपत्यकामा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकालीलगायतका मन्दिरमा पूजाआराधना तथा दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ भने उपत्यकाबाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता, डडेलधुराको उग्रतारा, दोलखाको कालीञ्चोकलगायतका शक्तिपीठमा पनि आज विशेष भीड हुने अपेक्षा गरिएको छ ।
नवरात्रका नौ दिनसम्म पूजाआराधना गरी प्राप्त प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ । यसरी १५ दिनसम्म नेपालीहरूले बडादशैं पर्व मनाउने गर्छन् ।
महागौरी मन्त्र
“ॐ देवी महागौर्यै नमः।। ”
महागौरी प्रार्थना
श्वेते वृषेसमारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेव प्रमोददा ।।








https://shorturl.fm/fozIu