पाँच सय वर्ष पुरानो इतिहास बोकेको पुरातात्विक सम्पदा रामकोट दरबार ओझेलमा
898 पटक पढिएको
- केशव अधिकारी / डिन्यूज नेपाल
रामकोट, धादिङ, १५ असोज – ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको रामकोट दरबार संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।
धादिङबेसीबाट पश्चिमतर्फ नीलकण्ठ नगरपालिका–८ मगरगाउँको टाकुरामा समुद्री सतहबाट १०३० मिटरको उचाईमा अवस्थित यो दरबार पुरातात्विक दृष्टिले महत्वपूर्ण छ, तर वर्षौंसम्म संरक्षण नहुँदा भग्नावशेषमा परिणत हुँदै गइरहेको छ।
नीलकण्ठ वडा नम्बर ८ का वडाअध्यक्ष प्रकाश कुमार श्रेष्ठका अनुसार, नेपाल सरकारको पुरातत्व विभागले यस क्षेत्रमा करिब ५०० वर्ष पुराना संरचना रहेको प्रमाणित गरेको छ। विभागले यसलाई केवल शाहकालसँग मात्र नभई मल्लकालीन सभ्यतासँग पनि सम्बन्धित हुनसक्ने निष्कर्ष निकालेको छ।

ऐतिहासिक दस्तावेजअनुसार गोर्खाका राजा राम शाहले यहाँका घले राजाहरुलाई विस्थापित गरी “रामकोट” नामाकरण गर्दै गढी बनाएका थिए। यहीँबाट गोरखा, मकवानपुर र नुवाकोटसम्म प्रशासन चलाइन्थ्यो भने काठमाडौंदेखि पश्चिम नेपाल हुँदै चीनसम्मको व्यापारिक बाटो पनि यहीँबाट रहेको विभिन्न अनुसन्धान र खोजहरुले पुष्टि गरेको छ।
स्थानीय कृष्णप्रसाद कोइरालाका अनुसार, दरबार क्षेत्र वरिपरि सुरुङ, सैनिक अभ्यास मैदान (टुडिखेल), रानी धारा, मण्डली देवी र मण्डलेश्वर महादेव मन्दिर, हातहतियार बनाउन प्रयोग भएका उपकरणका टुक्रा जस्ता ऐतिहासिक प्रमाण अझै भेटिन्छन्। तर संरक्षणको अभावमा पुराना ढुंगामाटाका संरचना चोरी वा नष्ट हुँदै गएका छन्। मुख्य दरबार क्षेत्रको जमिन वर्षौंदेखि व्यक्तिको नाममा दर्ता हुनु र त्यहाँ इन्टरनेट लगायतका टावर निर्माण हुनुले धरोहर संरक्षणमा थप चुनौती सिर्जना गरेको छ।

नीलकण्ठ नगरपालिकाले रामकोट दरबार पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ। करिब १६ करोड रुपैयाँ लागत अनुमान गरिएको यस योजनाअन्तर्गत दरबार पुनर्निर्माणसँगै राम शाहको शालिक, पदमार्ग, साना मन्दिर, पिकनिक स्थल, बाल उद्यान, चौतारा, शौचालय, पहरेदारको घर, पानी फोहोरा र हरियाली संरक्षणका काम अघि बढाइएको छ। हाल राम शाहको शालिक निर्माण सम्पन्न भइसकेको छ।

स्थानीयवासी सूर्य बहादुर लामिछानेले भने, “रामकोट दरबार उत्खनन, संग्रहालय, भ्यु–टावर, होमस्टे, रक–क्लाइम्बिङ र पिकनिक स्पटको विकासमार्फत सांस्कृतिक तथा पर्यटकीय गन्तव्य बन्न सक्छ।”
वडा अध्यक्ष श्रेष्ठ भन्छन्, “रामकोट दरबार केवल ऐतिहासिक स्मारक मात्र होइन, यो धादिङको आत्मा हो। संरक्षण र विकास गर्न सक्यौं भने यसले धादिङको मान–सान बढाउनेछ।” पुरातात्विक सम्पदालाई सूचीकरण गरी संरक्षण र संवर्द्धनका लागि आफूले प्राथमिकताका साथ काम गर्ने उनको भनाई छ।

रामकोट दरबारबाट मनोरम हिमशृङ्खलाको दृश्य नियाल्न सकिन्छ। यहाँबाट नीलगिरी, गणेशहिमाल, मनास्लु लगायतका हिमाल र धादिङका विभिन्न स्थानीय तहका मनोरम दृश्यावलोकन गर्न सकिन्छ। धादिङबेसीबाट मुरलीभन्ज्याङ–बाहुनगाउँ हुँदै रामकोट दरबारसम्म ६ किलोमिटर पक्की सडकको यात्रा गर्न सकिन्छ भने धादिङबेसी–अमरावती–देउराली–बाहुनगाउँ मार्गबाट ५ किलोमिटर र ससाह–ज्यामिरे–रामकोट हटिया मार्गबाट पनि ५ किलोमिटर यात्रा गरेर दरबार पुग्न सकिन्छ।

त्यसैगरी, मनोरम प्राकृतिक सुन्दरता र गाउँबस्तीको अवलोकन गर्दै साघुटार–अमरावती–मनकामना मन्दिर हुँदै धादिङबेसीबाट जम्मा २ किलोमिटर पदयात्रा गरेर पनि रामकोट दरबार पुग्न सकिन्छ।








https://shorturl.fm/R2LGP