भारी वर्षा र पहिरोको जोखिम : पृथ्वी राजमार्ग लगायतका सडकमा आवागमनमा सतर्कता

292 पटक पढिएको

१७ आश्विन २०८२, शुक्रबार २०:५६ सम्पादक: धादिङ न्यूज

धादिङ, १७ असोज । आगामी असोज २० गतेसम्म देशका विभिन्न भागमा मनसुनजन्य गतिविधि सक्रिय हुने र उच्च मात्रामा वर्षा हुने पूर्वानुमान भएकाले सडक विभाग र जिल्ला प्रशासन कार्यालय धादिङ,चितवन  र तनहुँले संयुक्त रूपमा यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

विभागीय सूचनाअनुसार निरन्तर वर्षाका कारण मुग्लिन–नारायणगढ सडक, मुग्लिन–नागढुंगा खण्ड, विपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडक र नारायणगढ–बुटवल सडकका संवेदनशील भागमा पहिरो खस्ने उच्च सम्भावना छ। यस अवधिमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन नगर्न अनुरोध गरिएको छ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, “भारी वर्षा हुने पूर्वानुमान गरिएको समय (असोज २० गतेसम्म) अत्यावश्यक बाहेकका ठूला सवारी साधन सञ्चालन नगर्नु, यात्रामा निस्कनु परेमा सुरक्षा निकायसँग निरन्तर सम्पर्कमा रहनु र सूचना लिने व्यवस्था मिलाउन आग्रह गरिन्छ।”

सडक विभागले जोखिमपूर्ण खण्डमा उपकरण परिचालन गरी अवरोध हटाउने कार्य निरन्तर जारी रहने जनाएको छ। आकस्मिक घटनामा तत्काल उद्धार र सहयोग उपलब्ध गराइने तथा यात्रु तथा स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ।

यात्रु तथा सवारी चालकहरूले सडक अवस्थाबारे थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालय, नजिकैको सडक कार्यालय वा टोल–फ्रि नम्बर १६६०-०१-४१६३२ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।