मनसुनजन्य विपद् तयारी तीव्र पार्न सबै जिल्ला प्रशासनलाई गृहमन्त्रालयको निर्देशन

216 पटक पढिएको

१८ आश्विन २०८२, शनिबार १९:५६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १८असोज । गृहमन्त्रालयले देशभर मनसुनजन्य विपद् जोखिम बढ्दै गएपछि सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उद्धार, राहत र व्यवस्थापनको तयारी सुदृढ पार्न निर्देशन दिएको छ।

शनिबार जारी परिपत्रमार्फत मन्त्रालयले आठ मुख्य बुँदामा विशेष ध्यान दिन निर्देशन दिएको हो। तीमध्ये, बाटोमा अलपत्र परेका गर्भवती महिलालाई नजिकको स्वास्थ्य संस्था वा बर्थिङ सेन्टरसम्म सुरक्षित रूपमा पुर्‍याउने व्यवस्था गर्न पनि भनिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुझावअनुसार, लामो दूरीका सवारी साधन तथा काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने सवारी आवागमन असोज २० गतेसम्म रोक्न मन्त्रालयले आदेश दिएको छ।

त्यस्तै, राजमार्गमा रोकिएका सवारी साधनहरूलाई सडक र मौसमको अवस्था अनुसार सुरक्षित रूपमा गन्तव्यतर्फ पुर्‍याउन सहजीकरण गर्न पनि जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ।

यससँगै, काठमाडौं महानगरभित्रका ७० विद्यालयलाई अस्थायी सेल्टरका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ भने उद्धार र राहतका लागि सबै सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्ण तयारी अवस्थामा रहन प्रधानमन्त्री पुकार कार्कीले निर्देशन दिएका छन्।

नेपाल टेलिकमको जिप रातु खोलाले बगाएको, कोशी प्रदेशमा सात स्थानमा सडक अवरुद्ध भएको र सप्तकोशी नदीको जलस्तर सामान्यभन्दा माथि पुगेको पनि रिपोर्ट गरिएको छ।