आश्विन शुक्ल पूर्णिमा : दशैंलाई बिदा, महालक्ष्मीको स्वागत
283 पटक पढिएको
काठमाडौं २० असोज -धन–धान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासँगै आज राति जाग्राम बसेर बडा दशैंको समापन गरिँदैछ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाका अवसरमा देशभर महालक्ष्मीको पूजा गरी धन र ऐश्वर्यको कामना गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आजै अखिल बलिपूर्ति गर्ने दिन पनि हो। यससँगै विजयादशमीदेखि सुरु भएको टीका–जमरा लगाउने क्रम समाप्त हुने धार्मिक विधान छ। आज बेलुका जमरा नदी वा पोखरीमा सेलाउने प्रचलन छ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, रातभर जाग्राम बसेर महालक्ष्मीको आराधना गर्ने घरमा देवी स्वयं भ्रमण गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्ने विश्वास रहेको छ।
माता दुर्गाका तीन रूपमध्ये महालक्ष्मीको पूजा गरी आज दुर्गा पक्षलाई बिदा गरिन्छ। यसै दिनलाई कौमुदी पूर्णिमा पनि भनिन्छ।
भोलिदेखि (असोज २१ गते मंगलबार) कार्तिक स्नान र तुलसी पूजा सुरु हुँदैछ भने आकाशदीपदानको परम्परा पनि त्यही दिनदेखि प्रारम्भ हुनेछ।








https://shorturl.fm/gbbSJ