तरकारीमा विषादीको मात्रा उच्च, तीन नमुना उपभोगका लागि अयोग्य**

158 पटक पढिएको

२४ आश्विन २०८२, शुक्रबार ०५:२७ सम्पादक: धादिङ न्यूज

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गरेको नियमित परीक्षणमा बजारमा बिक्रीका लागि आएका केही तरकारीमा हानिकारक विषादीको मात्रा उच्च फेला परेको छ।

समितिका अनुसार धादिङ, मकवानपुर, दोलखा, नुवाकोट, भक्तपुर र सर्लाहीबाट भित्रिएका १५ वटा तरकारीका नमुनामध्ये तीनवटा नमुना उपभोगका लागि अयोग्य ठहरिएका छन्।

मकवानपुरको हरियो फर्सीमा अर्गानोफस्फेट समूहको ४५.५९८ भाग भेटिएको छ भने धादिङको घिरौलामा ६५.०३० भाग र काँक्रोमा ५२.९२१ भाग पाइएको समितिले जनाएको छ। यी सबै नमुना उपभोगका लागि अयोग्य ठहरिएका छन्।

अन्य १२ नमुनामा भने निर्धारित मापदण्डभन्दा कम स्तरको विषादी अवशेष मात्र पाइएको छ। तिते करेला, काउली, बन्दा, गोलभेंडा, परवल, खुर्सानीलगायतका तरकारीमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादी न्यून मात्रामा रहेको समितिको भनाइ छ।

समितिले विषादीको रोकावट प्रतिशत ३५ भन्दा कम भए उपभोग योग्य, ३५ देखि ४५ सम्म भए केही दिनपछि मात्र खाने र ४५ भन्दा बढी भए खान अयोग्य मानिने जनाएको छ।