वरिष्ठ साहित्यकार प्रा. वासुदेव त्रिपाठीलाई साहित्य सन्ध्या-गोविन्द भट्ट स्मृति पुरस्कार

584 पटक पढिएको

२५ आश्विन २०८२, शनिबार १९:३८ सम्पादक: धादिङ न्यूज

काठमाडौं । वरिष्ठ साहित्यकार प्रा. वासुदेव त्रिपाठीलाई यस वर्षको साहित्य सन्ध्या-गोविन्द भट्ट स्मृति पुरस्कार प्रदान गरिएको छ।

विसं २०३९ देखि निरन्तर साहित्यिक गतिविधि गर्दै आएको संस्था साहित्य सन्ध्या द्वारा शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाबाट त्रिपाठीलाई रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो।

मार्क्सवादी चिन्तक गोविन्द भट्टको स्मृतिमा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको पहलमा अक्षयकोष स्थापना गरी यो पुरस्कार यस वर्ष पहिलोपटक प्रदान गरिएको हो।

पुरस्कार सिफारिस समितिका संयोजक प्रा. जगतप्रसाद उपाध्यायले डा. त्रिपाठीलाई नेपाली साहित्यका महासमालोचकका रूपमा परिचित गराउँदै उहाँको शोधपरक समालोचनात्मक योगदानलाई स्मरण गर्नुभयो।

कार्यक्रममा साहित्यकार प्रा. हेमनाथ पौडेलले भट्टको समालोचना र दर्शनका क्षेत्रमा रहेको विशिष्ट योगदानबारे चर्चा गर्नुभएको थियो।

विसं १९९४ साउन २ गते जन्मिएका गोविन्द भट्टको निधन २०६८ असोज २५ गते भएको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलगायतका साहित्यप्रेमीहरूको उपस्थिती रहेको थियो।