रोसन पुरी अन्तर्राष्ट्रिय पत्रकार संघ (आईयूजे)को उपाध्यक्ष चयन
272 पटक पढिएको
काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार संघ आईयूजेको कार्यकारिणी परिषद्को २०२५–२०२७ कार्यकालका लागि गत अक्टोबर ५ मा सम्पन्न अधिवेशनले चिलीका पत्रकार फेलिपे भिला प्रादोको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ।
उक्त कार्यसमितिमा नेपालबाट रोसन पुरी उपाध्यक्ष (प्रथम),दिपेन्द्र कुवर र सबिन धमला कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुनुभएको छ।
कार्यसमितिमा चिलीका कार्लोस फेलिपे भिला प्रादो अध्यक्षमा निर्वाचित भएका छन् भने नेपालका रोसन पुरी उपाध्यक्ष–१ मा चयन भएका छन्। अन्य उपाध्यक्षहरूमा मेक्सिकाका हेक्टर पर्रा गोंजालेज, पुएर्टो रिकाका नेल्सन डेल कास्टिलो, र श्रीलंकाकी महिला पत्रकार दुलाशी धर्मसेना रहेका छन्।
पाकिस्तानका जेड. ए. मोहम्मद महासचिवमा निर्वाचित भएका छन् भने श्रीलंकाका सुडेवा हेटियाराच्छी र चेक गणराज्यका मार्टिन कालोस सह–महासचिवमा चयन भएका छन्।
त्यस्तै, चेक गणराज्यकी डेनिसा पेत्रिलाकोभा कोषाध्यक्ष र पोल्याण्डका मारेक ट्रास्जिक कार्यसमिति अध्यक्षमा निर्वाचित भएका छन्।
कार्यकारिणी समितिका निर्वाचित सदस्यहरूमा नेपालका दिपेन्द्र कुवर, सविन धमला, चिलीका हाइम भिल्लारोएल, मेक्सिकाका रेने वेगा जाइल्स, चेक गणराज्यका रोमन ब्लास्को, र पाकिस्तानका अदिल शाहिद रहेका छन्।
यसै क्रममा मुहम्मद मसोद युनिस लाई अन्तर्राष्ट्रिय पत्रकार संघ (आईयूजे ) को प्रवक्ताका रूपमा नियुक्त गरिएको छ।
आईयूजेले निर्वाचन प्रक्रियामा सहभागी सबै सदस्य, राष्ट्रिय पत्रकार संघहरू तथा पर्यवेक्षकहरूलाई लोकतान्त्रिक मूल्य, पारदर्शिता र पेशागत निष्ठा कायम राख्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेको छ।
आईयूजेका अनुसार निर्वाचन आईयूजेको विधानअनुसार पूर्ण पारदर्शिता, निष्पक्षता र विश्वभरका सदस्य पत्रकारहरूको व्यापक सहभागितासहित सम्पन्न गरिएको हो।
नव–निर्वाचित नेतृत्वले पत्रकारहरूको अन्तर्राष्ट्रिय एकता सुदृढ गर्दै प्रेस स्वतन्त्रताको संरक्षण र विश्वव्यापी रूपमा नैतिक पत्रकारिता प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपालका तीनजना पत्रकार अन्तर्राष्ट्रिय पत्रकार संघको नेतृत्वमा चयन भएको समाचारले नेपाली पत्रकारिता क्षेत्रमा खुशी र गौरवको माहोल सिर्जना गरेको छ।








https://shorturl.fm/9yKS8