रक्तवच्छला आधारभूत विद्यालयको शिक्षक सरुवाविरुद्ध गाउँपालिकामा ताला

773 पटक पढिएको

२६ आश्विन २०८२, आईतवार १६:०२ सम्पादक: धादिङ न्यूज

धादिङ । गल्छी गाउँपालिका–२ स्थित रक्तवच्छला आधारभूत विद्यालयका विद्यार्थी र अभिभावकले शिक्षक सरुवाविरुद्ध आईतबार गाउँपालिकामा ताला लगाएका छन् ।

गल्छी गाउँपालिका वडा नम्बर २ को रक्तवच्छला आधारभूत विद्यालयमा पढाइरहेका शिक्षक रूपक खतिवडा लाई दरबन्दी सहित गल्छी ४ को जनकल्याण माध्यमिक विद्यालयमा सरुवा गरेपछि रक्तवच्छलामा डेढ महिनादेखि गणित पढाउने शिक्षक रिक्त हुन पुगेको बिद्यार्थीहरुले वताएका छन् ।

तत्काल अर्को शिक्षकको व्यवस्था गरिदिन अभिभावकले पटकपटक गाउँपालिकामा अनुरोध गर्नुका साथै ज्ञापन पत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएको भन्दै असोज २६ गते विहान १० वजेबाट अध्यक्षको कार्यकक्षमा धर्ना बसेका बिद्यार्थी अभिभावकले माग पुरा नभएको भन्दै गाउँपालिकाको मुल गेटमा ताला लगाएका हुन ।

शिक्षक सरुवाका कारण विद्यालयमा दरबन्दी अनुसार शिक्षक अभाव भई ४१ दिनदेखि पठनपाठन प्रभावित भएको बिद्यार्थीको गुनासो छ ।  धर्नामा सहभागी विद्यार्थी र अभिभावकले  सरुवा गरिएको शिक्षकलाई फिर्ता पठाउन माग गर्दै चेतावनी दिएका थिए – “माग पूरा नभए कार्यकक्षमै धर्ना जारी राख्छौँ, बेवास्ता गरेमा गाउँपालिका भवनमै ताल्चा लगाउँछौँ।”

विद्यार्थीहरूले “हामीलाई पढ्ने अधिकार दिनुपर्छ, शिक्षक फिर्ता गर्नुपर्छ” भन्दै नारा लगाएका छन्।

स्थानीय अभिभावकले शिक्षक घटाइएपछि पढाइ ठप्प हुने अवस्था आएको बताएका छन्। “बच्चा पढाउने शिक्षक नै घटाइयो, अब कसरी पढ्ने?” एक अभिभावकले आक्रोश व्यक्त गरे।

गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले शिक्षा समिति र कार्यपालिकाको निर्णय बेगर गरिएको सरुवाको विषयमा छलफल गरेर समाधान निकाल्ने तयारी भइरहेको जानकारी दिएका छन्।