नेकपा एमालेले मंसिर अन्तिम साता पार्टीको ११औं महाधिवेशन गर्ने

319 पटक पढिएको

२७ आश्विन २०८२, सोमबार ०७:०६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेकपा एमालेले मंसिर अन्तिम साता पार्टीको ११औं महाधिवेशन गर्ने निर्णय गरेको छ। असोज २६ गते भक्तपुरको गुण्डु स्थित केपि शमौ ओलीको निवासमा बसेको सचिवालय बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

दिउँसो १२ बजेबाट सुरु भएको बैठक करिब ९ घण्टासम्म बसेको थियो। मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि गते र स्थान भने तोकिएको छैन।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उत्पन्न आन्तरिक संकटलाई महाधिवेशनको एजेन्डामा लगेर तत्कालका लागि टारेका छन्। भक्तपुर गुन्डुमा तीन दिनसम्म चलेको सचिवालय बैठकमा अधिकांश सदस्यले ओलीको राजीनामा मागे पनि उनले मंसिर अन्त्यतिर हुने ११औं महाधिवेशनमार्फत नेतृत्वको टुंगो लगाउने सहमति निकालेका छन्।

बैठकमा बहुमत सदस्यले अध्यक्ष परिवर्तनको पक्षमा आवाज उठाएपछि ओलीले दोस्रो विकल्पस्वरूप महाधिवेशनमा जाने प्रस्ताव अघि सारेका हुन्। उनले ‘अब नेतृत्वको निर्णय कार्यकर्ताबाटै गराऔं’ भन्दै राजीनामा नदिने अडान दोहोर्याएका छन्।

आइतबार करिब ९ घण्टा चलेको बैठकमा योगेश भट्टराई, गोकर्ण विष्ट, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, युवराज ज्ञवालीलगायतका नेताहरूले ओलीको राजीनामा मागेका थिए। तर महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र गुरु बरालजस्ता नेताहरूले ओलीको पक्षमा उभिँदै नेतृत्व परिवर्तनभन्दा महाधिवेशनमार्फत नयाँ निर्णय लिनुपर्ने तर्क गरेका थिए।

बैठकपछि एमाले सचिव पद्मा अर्यालले अब केन्द्रीय कमिटी बैठकले मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने बताइन्। उनले बैठकमा पार्टी एकता, प्रतिनिधि सभा पुनःस्थापनाको माग र आगामी राजनीतिक तयारीका विषयमा पनि छलफल भएको जानकारी दिइन्।

ओलीले भने ‘पार्टीमा उत्पन्न असमझदारी महाधिवेशनले समाधान गर्नेछ’ भन्दै राजीनामा माग्ने नेताहरूमाथि प्रश्न उठाएका छन्। उनका अनुसार, अहिले नेतृत्व फेर्ने भन्दा पनि पार्टीलाई चुनाव र आन्दोलनको तयारीतर्फ लैजाने समय हो।

बैठकमा सहभागी एक नेताले भने, “ओलीले संकटको सामना गर्न रणनीतिक निर्णय लिएका छन्, तर यो अस्थायी समाधान हो। महाधिवेशनपछि पुनः शक्ति सन्तुलन तय हुनेछ।”