सरुवा भएका शिक्षक दरवन्दी सहित फिर्ता भएपछि खुल्यो गल्छी गाउँपालिकामा लागेको ताला

418 पटक पढिएको

२९ आश्विन २०८२, बुधबार १५:४८ सम्पादक: धादिङ न्यूज

धादिङ, २९ असोज । शिक्षक सरुवाको बिषयलाई लिएर गल्छी गाउँपालिकाको कार्यालयमा लगाईएको ताला चार दिन पछि खुलेको छ । गल्छी गाउँपालिका–२ स्थित रक्तवच्छला आधारभूत विद्यालयका विद्यार्थी र अभिभावकले शिक्षक सरुवाविरुद्ध असहमती राख्दै आईतबार गाउँपालिकामा ताला लगाएका थिए ।

गल्छी गाउँपालिका वडा नम्बर २ को रक्तवच्छला आधारभूत विद्यालयमा पढाइरहेका शिक्षक रूपक खतिवडा लाई दरबन्दी सहित गल्छी ४ को जनकल्याण माध्यमिक विद्यालयमा सरुवा गरेपछि रक्तवच्छलामा डेढ महिनादेखि गणित पढाउने शिक्षक रिक्त हुन पुगेको भन्दै आईतबार गाउँपालिकामा धर्ना दिएर समस्या समाधान नभएपछि कार्यालयको मुल गेटमा तालावन्दी गरेका थिए ।

सरुवा गरिएका शिक्षकलाई दरवन्दी सहित रक्तबच्छलामा फिर्ता गर्ने निर्णय गाउँपालिकाबाट भएपछि चारदिन देखि लागेको ताला खुलेको हो ।
शिक्षक सरुवाको बिषयलाई लिएर उत्पन्न समस्याको साधान गर्न गल्छी गाउँपालिकाका राजनैतिक दलहरु, नेपाली काँग्रेस, एकीकृत नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले गाउँपालिकाको ध्यानाकर्षण समेत गराएका थिए ।

गाउँपालिकाको मुख्य गेटमा तालावन्दी भएपछि कार्यालयको दैनिक कामकाज प्रभावित हुन पुगेको थियो । सोही कारण गल्छी गाउँपालिकामा हुने भनिएको पाँचौं अन्तर वडा स्तरिय खुला पुरुष भलिबल प्रतियोगिता स्थगित भएको भएको सूचना बुधबार गाउँपालिकाले प्रकाशित गरेको थियो ।

गाउँपालिकाले असोज २३ गते प्रकाशित सूचनाअनुसार ३१ गतेदेखि प्रतियोगिता संचालन गर्ने तयारी गरे पनि अन्य कारणले गर्दा प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचनामा जनाएको थियो ।

गाउँपालिकाका शिक्षा अधिकृत धिरज बस्नेत द्वारा जारी सूचनामा प्रतियोगिता स्थगित भएको जानकारी सबै सरोकारवालाहरुलाई दिइएको छ।