ओलीको नेतृत्व नरहे एमालेसँग एकताको ढोका खुल्छ-प्रचण्ड
197 पटक पढिएको
धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित पार्टी एकताबारे स्पष्ट संकेत दिएका छन्।
धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा उनले युवा र पार्टी नेताकार्यकर्तासँगको संवादमा आगामी निर्वाचनलाई माओवादी केन्द्रको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताएका हुन्।
‘अबको माओवादीको लाइन भनेको चुनाव हो,’ प्रचण्डले भने, ‘केपी ओलीको नेतृत्वमा एमालेसँग एकता सम्भव छैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’
उनका अनुसार तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ। कार्यक्रमका क्रममा प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई पुनः स्वीकार गर्न थालेको बताए। उनले भने, ‘अहिले मेरो जेन्जी युवाहरूसँग पनि छलफल भइरहेको छ। उनीहरूले माओवादी सही रहेछ भन्ने बुझ्न थालेका छन्।’
त्यसैगरी, धादिङको थाक्रे गाउँपालिकास्थित महादेवेसीमा आयोजित पार्टी बैठकमा सम्बोधन गर्दै प्रचण्डले देश माओवादी केन्द्रको एजेन्डामै अघि बढ्ने विश्वास व्यक्त गरे। उनले देश संकटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै संविधान, गणतन्त्र र जनताको पक्षमा माओवादी केन्द्र दृढतापूर्वक उभिएको दाबी गरे।
‘हाम्रो पार्टी नै जेन्जी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो,’ प्रचण्डले भने, ‘जेन्जी आन्दोलनको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र नै हो भन्ने प्रमाणित भइसकेको छ।’
सरकारमा बसेर जेन्जीहरूलाई दमन गर्ने र आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्ने भनाइलाई एउटै पार्टीको रूपमा प्रचार गर्नेहरूको आलोचना गर्दै उनले भने, ‘माओवादी केन्द्रको कार्यशैली र नीति हेर्दा जेन्जीहरूको असली नेतृत्व हाम्रो पार्टी हो भन्ने प्रष्ट हुन्छ।’
निर्वाचनको मिति नजिकिँदै गर्दा उनले नेताकार्यकर्तालाई योजनाबद्ध रूपमा तयारी गर्न निर्देशन दिए। ‘निर्वाचन हुँदैन कि भन्ने दुविधामा बस्नु हुँदैन,’ उनले भने, ‘निर्वाचन घोषणा भइसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।’
प्रचण्डले पाँच दलसँग छिट्टै एकता प्रक्रिया अघि बढ्ने संकेत गर्दै माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले जेन्जीका मागअनुसार नेतृत्व तहमा युवालाई अघि ल्याउने नीतिगत निर्णय गरिसकेको जानकारी दिए। उनले पार्टीलाई समयअनुसार पुनर्संरचना गर्दै लैजाने प्रतिबद्धता समेत जनाए।
संविधान निर्माणदेखि माओवादी केन्द्रले अघि सारेका एजेन्डा र जेन्जीका माग एउटै दिशा र उद्देश्यका रहेको उल्लेख गर्दै उनले भने, ‘देश अहिले पनि माओवादी केन्द्रले उठाएका एजेन्डाहरूअनुसार अघि बढिरहेको छ। अबको नेतृत्व पनि माओवादी केन्द्रले लिनुपर्छ।’








https://shorturl.fm/D4oN2
https://shorturl.fm/BA7gc
https://shorturl.fm/BA7gc