आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै

230 पटक पढिएको

३१ आश्विन २०८२, शुक्रबार ०६:३५ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ३१ असोज   – आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदैछ। यस दिवसको उद्देश्य चरम गरिबीविरुद्ध एकजुट भएर लड्नु र गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्नु हो।

यस वर्षको दिवस “परिवारप्रति सम्मान र प्रभावकारी सहयोग सुनिश्चित गर्दै सामाजिक र संस्थागत दुर्व्यवहारको अन्त्य गर्नु” भन्ने नारासहित मनाइँदैछ। सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ मा यो दिवस विश्वभर मनाइँदै आएको छ। संयुक्त राष्ट्रसंघका अनुसार खाना, नाना र छानाको अभावमा रहेका नागरिकलाई गरिब मानिन्छ।

दिगो विकास लक्ष्यले सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ। नेपाल सरकारले पनि यसका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ। सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको थियो। देशभर संघ, प्रदेश र स्थानीय तहमा अबौं रुपैयाँका फरक–फरक कार्यक्रमहरू मार्फत गरिबी निवारण प्रयास भइरहेका छन्, तर अपेक्षाकृत रुपमा गरिबीमा उल्लेखनीय कमी देखिएको छैन।

नेपालको राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७९–०८० मा गरेको जीवनस्तर सर्वेक्षणअनुसार २०.२७ प्रतिशत मानिसहरू अझै पनि गरिबीको रेखामुनि रहेको देखिएको छ। विश्वव्यापी रूपमा करिब ४४ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेका छन्।

यस दिवसले समाजमा गरिबी निवारणप्रति चेतना जगाउने र सबै तहमा समावेशी विकासको दिशा प्रष्ट पार्ने काम गर्ने विश्वास व्यक्त गरिएको छ।