नेपालले जित्यो विश्वकप छनोटको उपाधि : खेलाडीले जनही साढे १९ लाख पाउने

172 पटक पढिएको

३१ आश्विन २०८२, शुक्रबार २०:२४ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपालले अपराजित रहँदै आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ ।

शुक्रबार सम्पन्न अन्तिम खेलमा नेपालले सामोआलाई १२४ रनले पराजित गर्दै समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेलमा विजय हासिल गरेको हो । नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो ।

यो जितसँगै नेपालले ११ वर्षपछि पहिलो पटक आइसिसीको प्रतियोगितामा उपाधि हात पारेको छ । यसअघि सन् २०१४ मा आइसिसी डिभिजन–४ को उपाधि जितेको नेपालले त्यसयता आइसिसीले आयोजना गरेका विभिन्न प्रतियोगितामा उपाधि जित्न सकेको थिएन ।

यसअघि सन् २०२३ को विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।

समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो । कुवेत बाहिरिएपछि जापानसँगको जितबाट प्राप्त अंकसहित नेपाल सुपर सिक्समा प्रवेश गरेको थियो । सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईलाई १ रनले रोमाञ्चक तरिकाले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानमाथि ३८ रनले जित निकाल्दै उपाधि नजिक पुगेको थियो ।

छनोट प्रतियोगिताबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपमा सहभागिता सुनिश्चित गरेका छन् ।

यसैबीच, राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार खेलकुद विकास नियमावली २०७९ अनुसार विश्वकप छनोटमा पहिलो हुने टोलीका खेलाडीहरूलाई सो पुरस्कार प्रदान गरिनेछ ।

नियमावलीको अनुसूची ४ अनुसार नेपालले विश्वकप जितेमा जनही ३२ लाख ५० हजार, उपविजेता भएमा २६ लाख र तेस्रो भएमा १९ लाख ५० हजार पुरस्कार दिने व्यवस्था छ । विश्वकप छनोट प्रतियोगितामा पहिलो हुने टोलीका खेलाडीलाई पनि यही दरले पुरस्कार दिइने उल्लेख छ ।

स्मरण रहोस्, २०२४ को विश्वकप छनोटमा नेपाल दोस्रो भएको कारण खेलाडीहरूले जनही १३ लाख रुपैयाँ पुरस्कार पाएका थिए ।