तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु

210 पटक पढिएको

१ कार्तिक २०८२, शनिबार ०७:०४ सम्पादक: धादिङ न्यूज

काठमाडौं, १,कात्तिक  – उज्यालोको पर्वका रूपमा मनाइने यमपञ्चक अर्थात् तिहार आजदेखि औपचारिक रूपमा सुरु भएको छ।तिहार कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि सुरु भएर कार्तिक शुल्क पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकोले यो पर्वलाई यमपञ्चक भनिन्छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व आज दिउँसो १ः२३ बजेपछि त्रयोदशी तिथि लाग्दै धनतेरस (धनत्रयोदशी) र यमदीपदानआरम्भ भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार काग तिहार आइतबार, कुकुर तिहार र लक्ष्मीपूजा सोमबार पर्नेछन्।

गाईगोरु पूजा, गोवद्र्धन पूजा र आत्म पूजा बुधबार, र भाइटीका बिहीबार (कात्तिक ६ गते) मनाइने समितिले जनाएको छ। यस वर्ष भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजे रहेको छ।

तिहार कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि सुरु भएर कार्तिक शुल्क पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकोले यो पर्वलाई यमपञ्चक भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने विश्वास छ । यमपञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ । दोस्रँे दिन कुकुर र क्रमशः लक्ष्मी, गोवर्धन पर्वत र भाइ पूजा गरिन्छ ।

धेरै पहिले बहिनी यमुनाले यस दिन दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले बहिनीको निम्तो स्वीकार गरी बहिनीको घरमा बास बसे। घरमा बस्दा निकै प्रसन्न भई यमराजले बहिनीलाई वर माग भन्दा उनले हरेक वर्ष तिहारमा टीका लाउन आउनुपर्ने र हामी दुईको प्रेम प्रगाढ रहोस् र दाजुको आयु लामो होस् भनेर वरदान मागिन् । यमराजले पनि तथास्तु भनेर बिदा भएपछि हरेक वर्ष त्यही दिन यो पर्व मनाइन्छ ।

पहिलो दिन काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गरिन्छ । कागलाई यमदूतको प्रतीक मानिन्छ । काग चलाख र चिरञ्जीवी पंक्षी हो साथै कागले अन्नबालीमा लाग्ने कीरा–फट्याङ्ग्राहरू खाइदिने भएकाले कागको पूजा गरिन्छ । त्यसैगरी कागलाई सर्वभक्षी पंक्षीका रूपमा चिनिन्छ । किनभने यसले सबै खालका वस्तु खान सक्छ । कागले पृथ्वीमा भएका कतिपय विषालु कुरालाई पनि ग्रहण गर्न सक्छ । त्यसैले वायुमण्डल स्वच्छ बनाउन कागको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले यसदिन कागको पूजा गरी कागतिहार मनाउने गरिएको धार्मिक विश्वास छ ।

कार्तिक कृष्णपक्षको त्रयोदशीलाई धनत्रयोदशी अर्थात् धन्तेरस पनि भनिन्छ । यस दिन सुनचाँदीका गरगहना, सिक्का, काँस, तामा, पित्तल आदिका भाँडाकुँडा किन्ने परम्परा छ ।

दोस्रो दिन कुकुर तिहार

दोस्रो दिन कुकुर तिहार मनाइन्छ । यस दिन कुकुरलाई पूजा गरी माला लगाइदिएर यो पर्व मनाइन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर यमराजको प्रिय भक्त र उनको दूतको रूपमा पनि लिइन्छ । कुकुर आज्ञाकारी र इमान्दार जनावर भएकाले मानिसहरूको प्रिय जनावर पनि हो । हाम्रो सुरक्षा गर्नेदेखि अपराध निवारण र अनुसन्धानमा समेत सहयोग पु¥याउने जनावर भएकाले कुकुरलाई सम्मान गर्ने पर्वका रूपमा कुकुर तिहार मनाइन्छ ।

तेस्रो दिन गाईतिहार र लक्ष्मीपूजा

धार्मिक कार्य गर्नुअघि गाईको गोबरले लिपपोत गरेर गाईको गहुँत सबैतिर छर्केर चोखो बनाई पूजाआजा गर्ने हिन्दूहरूको संस्कार छ । गाईलाई लक्ष्मी र गौमाताका रूप मानिन्छ । गाईको दूध, दही, घिउ, गोबर र गहुँत सबै हाम्रो स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । यसैगरी त्यस दिन साँझमा सुख, सम्पत्ति एवं ऐश्वर्य दिएर धनको वर्षा गराउने लक्ष्मीको पूजाआजा गरिन्छ । कार्तिक कृष्णऔंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । त्यसैले घरवरिपरि बत्ती बालेर उज्यालो बनाइन्छ ।

चौथो दिन गोरु तिहार

गोरु तिहार तिहारको चौथो दिन मनाइन्छ । गाईको गोठ वा पवित्र स्थानमा गोबरको गिरिराज बनाएर त्यसलाई पूजा गरिन्छ । गोरुलाई हातको पञ्जा वा फूलका थुँगाले रंगीचंगी टीका लगाई खानेकुरा दिएर फूलमाला लगाई पूजा गरिन्छ । गोरु धर्मको स्वरूप हो । गोरुले मानिसलाई सेवा पु¥याउँदै आएकाले उनीहरूलाई सम्मानस्वरूप पूजाआजा गरी गोरुतिहार मनाउने गरिएको हो ।

अन्तिम दिन भाइटीका

भाइटीका दिदीबहिनी र दाजुभाइको विशेष पर्व हो । दिदीबहिनीहरूले दाजुभाइलाई विधिपूर्वक पूजाआजा गरेर मीठोमसिनो खानेकुरा दिई निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गर्छन् । बहिनी यमुनाले टीकाकै दिन दाजु यमराजलाई सम्मान पूर्वक पूजा गरेको धार्मिक महत्व छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानीपोखरीको मन्दिरमा पूजाआजा गर्छन् ।

तिहारका अवसरमा राजधानीलगायत देशभर झिलीमिली बत्तीले सजिएको छ। घरघरमा दीपावली, देउसी-भैलो, पूजा र दाजुभाइबीचको आत्मीयता साटासाटसहित देशभर उल्लासपूर्ण वातावरण बनेको छ।

नेपाल प्रहरीले भने तिहारमा सभ्य रूपमा पर्व मनाउन र पटाका नपड्काउन सर्वसाधारणलाई आह्वान गरेको छ।