धादिङका कमल श्रेष्ठ सहित सशस्त्र प्रहरीको नौ सदस्यिय टोलीद्धारा चुलु फार ईस्ट हिमाल सफल आरोहण

259 पटक पढिएको

१ कार्तिक २०८२, शनिबार १०:४९ सम्पादक: धादिङ न्यूज

मनाङ ।  धादिङको सिद्धलेक–३ घर भएका शसस्त्र प्रहरी जवान कमल श्रेष्ठ सहित सशस्त्र प्रहरी बल, नेपालका सात जना कर्मचारीसहित नौ सदस्यीय टोलीले दामोदर हिमश्रृंखला अन्तर्गत पर्ने चुलु फार ईस्ट हिमाल सफलतापूर्वक आरोहण गरेका छन्।

टोलीले असोज २५ गते बिहान ७ बजे ६ हजार ३८ मिटर उचाइको शिखरमा पुगेर सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएको हो।

सफल आरोहण गर्ने टोलीमा सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डाँगी, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल र मनोज खड्का, सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत र रवि खकुरेल, सशस्त्र प्रहरी नायब निरीक्षक दन्त बहादुर छन्त्याल, सशस्त्र प्रहरी जवान कमल श्रेष्ठ लगायत सात जना सशस्त्र प्रहरी कर्मचारी तथा कुशल हिमाल आरोही निङ्मा छिरि शेर्पा र सुन्वा छिरि शेर्पा रहेका थिए।

यो आरोहणले सशस्त्र प्रहरी बलको साहस, समर्पण र क्षमताको प्रत्यक्ष उदाहरण प्रस्तुत गरेको छ। हिमाली भूपरिधिमा कार्यरत सुरक्षाकर्मीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै कठिन भौगोलिक परिस्थितिमा समेत सुरक्षाको प्रतिवद्धता जनाउने उद्देश्यसहित गरिएको यो अभियान सफल भएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपालले हिमाली सुरक्षालाई थप मजबुत पार्ने उद्देश्यसहित यस्ता आरोहण अभियानलाई निरन्तरता दिँदै आएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ । डिस्याङ गाउँपालिका–५ र नार्पाभूमि गाउँपालिका–३ मा रहेको हिमालचुली पर्वतारोहणका लागि खुला गरिएको छ ।

चुलु सुदूरपूर्वको नामले परिचित सो हिमालको आरोहणमा प्रायः गरेर ‘अन्नपूर्ण सर्किट ट्रेकसँग जोडिन्छ । चुलु पूर्व हिमाल मनाङ उपत्यकाभन्दा माथि रहेको छ । जहाँ अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो र अन्नपूर्ण चौथो, गङ्गापूर्ण, हिमनदी, धवलागिरि, तिलिचो र मनास्लुको मनमोहक दृश्यहरूसमेत हेर्न सकिन्छ ।