तिहार शान्तिपूर्वक मनाउन धादिङ प्रशासनद्वारा निर्देशन जारी

195 पटक पढिएको

२ कार्तिक २०८२, आईतवार २०:४१ सम्पादक: धादिङ न्यूज

धादिङ ।  तिहार पर्वलाई शान्तिपूर्ण, मर्यादित र सांस्कृतिक परम्परा अनुरूप मनाउन धादिङ जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभर शान्ति सुरक्षा, आगलागी तथा अवाञ्छित गतिविधि रोकथाममा विशेष ध्यान दिन सबैलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीद्वारा हस्ताक्षरित सूचनामा तिहारको समयमा हुने सम्भावित जोखिम र अव्यवस्था रोक्न ६ वटा बुँदामा निर्देशन दिइएको छ ।

सूचनामा विद्युत्, मैनबत्ती , दियो र प्यालाजस्ता सामग्री प्रयोग गर्दा आगलागीको सम्भावना कम गर्न सावधानी अपनाउन, साथै पटका, आतसबाजी, झिलिमिली बत्ती तथा  प्रज्वलनशील वस्तुहरूको बिक्री, वितरण र प्रयोग नगर्न अनुरोध गरिएको छ

त्यस्तै, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा हुल्लडबाजी नगर्न, जिल्ला क्षेत्रमा हुने देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रम राति १० बजेपछि सञ्चालन नगर्न, र साउन्ड सिस्टमको अत्यधिक प्रयोगबाट शान्ति सुरक्षामा असर नपार्न निर्देशन दिइएको छ ।

साथै, प्रशासनले जुवा, तास र लंगुरबुर्जा जस्ता गतिविधि पूर्णरूपमा निषेध गरिएको जनाएको छ ।

धादिङ प्रशासनले सबै पक्षको सहयोगमा तिहारलाई शान्तिपूर्ण, सभ्य र सुसंस्कृत रूपमा मनाउन अपील गरेको छ ।