निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्की र सात दलबीच आज बालुवाटारमा छलफल हुने
195 पटक पढिएको
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलसँग फागुन २१ गते तय गरिएको निर्वाचन सम्बन्धमा आज औपचारिक छलफल गर्न लागेकी छन्।
फागुन २१ को निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित बनेको वर्तमान सरकारले राजनीतिक संवादको पहल गर्दै राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई छलफलका लागि निम्तो पठाएको हो। छलफल आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने प्रेस संयोजक राम रावलले जानकारी दिएका छन्।
यसअघि सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै विभिन्न दलहरू असन्तुष्ट थिए। संवादहिनता तोड्दै सरकारले छलफलका लागि औपचारिक निमन्त्रणा पठाएपछि संसद् पुनर्स्थापनालाई आफ्नो अडान बनाएको नेकपा (एमाले) पनि छलफलमा सहभागी हुने भएको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनाव गराउने तयारी नगरेको आरोप लगाउँदै आएका बेला संवादका लागि सरकारको निम्तो आएको हो। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी छलफलबाट पछि नहट्ने बताए। उपाध्यक्ष युवराज ज्ञवालीले महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली छलफलमा सहभागी हुने जनाएका छन्।
सरकारले प्रत्येक दललाई दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन अनुरोध गर्दै पत्राचार गरेको छ। सबै दलहरूले सो पत्र प्राप्त गरिसकेका छन्।
नेपाली कांग्रेसले सरकारको कदमलाई स्वागत गर्दै महामन्त्री गगन थापाको नेतृत्वमा छलफलमा सहभागी हुने जनाएको छ। थापाले छलफलमा शान्ति–सुरक्षाको विषयलाई विशेष महत्वका साथ उठाउने बताए।
नेकपा माओवादी केन्द्रले पनि चुनावमा जान सकारात्मक संकेत दिएको छ। पार्टीका नेता देव गुरूङले सरकारको गतिविधिप्रति केही शंका रहे पनि छलफलमा सहभागी हुने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णीम वाग्ले, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका प्रवक्ता मनिष सुमन र जनमत पार्टीका महासचिव चन्दन सिंह पनि छलफलमा सहभागी हुने जनाइएको छ।
सरकारले राष्ट्रपतिको माध्यममार्फत दलहरूको धारणा बुझ्ने प्रारम्भिक प्रयास गरे पनि प्रत्यक्ष संवाद ढिलो भएको नेताहरूको भनाइ छ। दलहरूबीचको असहमति र अविश्वासकै कारण तोकिएकै मितिमा निर्वाचन हुन सक्ने वा नसक्ने भन्ने अन्योल अझै कायम रहेको छ।








https://shorturl.fm/Mw4t6