ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

167 पटक पढिएको

११ कार्तिक २०८२, मंगलवार २१:२९ सम्पादक: धादिङ न्यूज

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालि द्वारा ठगी प्रकरणमा नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंस्थित निवासबाटै नियन्त्रणमा लिएको हो।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवप्रसाद श्रेष्ठका अनुसार, अहिले अपरेशन जारी छ र कार्यालयबाट जफत गरिएको कागजपत्रको आधारमा विस्तृत जानकारी भोलि उपलब्ध गराइनेछ।

प्रभु म्यानेजमेन्टले कम्तीमा १६ वटा सहकारी संस्थाबाट रेमिट्यान्स भुक्तानीको रकम फिर्ता नगरेको आरोप लागेको छ। भट्टचन सो कम्पनीका अध्यक्ष हुँदा पीडित सहकारीहरूले ९९ लाख ३७ हजार रुपैयाँ ठगी भएको दाबीसहित उजुरी दिएका थिए।

पूर्वसांसद भट्टचन २०७४ को निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेका थिए। हाल उक्त कम्पनी कुसुम लामाले सम्हालिरहेकी छन् ।