ओलीद्वारा जेनजीसहित सर्वपक्षीय सरकार गठनको प्रस्ताव

269 पटक पढिएको

१२ कार्तिक २०८२, बुधबार ११:३३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनसहितको सर्वपक्षीय सरकार गठन गर्ने प्रस्ताव अघि सारेका छन् ।

राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँगको भेटवार्तामा ओलीले यस्तो प्रस्ताव अघि सारेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका हुन् ।

रिजालका अनुसार ओलीले असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्नुपर्ने, त्यसपछि संविधान संशोधन गरी संसद् सदस्य नभएको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

ओलीले जेनजी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता नबढाउने र पुनः प्रधानमन्त्रीको दाबी नगर्ने बताएका छन् । उनले जेनजीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन गरी तीन महिनाभित्र निर्वाचन गराउनुपर्ने प्रस्ताव समेत अघि सारेका छन् ।

ओलीका अनुसार यस्तो व्यवस्थाले फागुन २१ मा तोकिएको मितिमै नयाँ प्रतिनिधिसभा निर्वाचन सम्भव हुने र संविधान तथा लोकतन्त्रलाई सही दिशामा फर्काउन सकिने विश्वास व्यक्त गरिएको छ ।