पुरानो सहमती कार्यान्वयनको माग राख्दै बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका बासिन्दा आन्दोलनमा

344 पटक पढिएको

१२ कार्तिक २०८२, बुधबार १२:१९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका बासिन्दाले फेरि आन्दोलन गर्ने भएका छन् ।

स्थानीयवासीसँग केन्द्र सरकार, काठमाडौं महानगरपालिका र अरू स्थानीय तहले गरेको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिन लागेका हुन् । उनीहरूले फोहोर बोकेका कुनै पनि गाडी बन्चरेडाँडा जान नदिने घोषणा गरेका छन् ।

धादिङको धुनिवेशी नगरपालिका–१, बन्चरेडाँडाका ल्यान्डफिल साइटका प्रभावित स्थानीयले आन्दोलन थालेपछि फोहोर व्यवस्थापन ठप्प भएको हो ।

धुनिवेशी वडा नम्बर १ का अध्यक्ष मानबहादुर तामाङका अनुसार, स्थानीयका पुराना माग पूरा नभएपछि आन्दोलन सुरु गरिएको हो ।

उनले भने, “नयाँ माग छैन, पुरानै सम्झौताका बुँदाहरू पूरा नभएपछि आन्दोलन गर्न बाध्य भएका हौँ । उपत्यकाको फोहोर अनिश्चितकालका लागि बन्द गरिएको छ।”

स्थानीयले पटकपटक भएका पुराना सम्झौता कार्यान्वयन नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान लिएका छन् । यस क्रममा ल्यान्डफिल साइट पुगेका फोहोरका गाडीहरू फिर्ता गराइएको छ ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईका अनुसार,“उहाँहरूले बीच बाटोमै फोहोरका गाडीहरू रोक्नुभएको छ । अत्यावश्यक फोहोर व्यवस्थापन कार्य रोक्न नहुने कानुनी व्यवस्था छ, त्यसअनुरूप प्रहरीले सहयोग गरिरहेको छ,”उनले बताइन् ।

स्थानीयले बन्चरेडाँडाका बस्तीहरूलाई ३–४ हजार मिटर पर सार्नुपर्ने, फोहोरलाई कुहिने-नकुहिने छुट्याएर मल कारखाना सुरु गर्नुपर्ने, र गुठी जग्गाको ९० प्रतिशत हिस्सा उपभोग गर्न पाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

काठमाडौं महानगरको मेयरमा निर्वाचित हुनेबित्तिकै बालेन्द्र साह (बालेन)ले बन्चरेडाँडा पुगेर फोहोरमैला व्यवस्थापनको समस्या समाधान नभएसम्म खादा, माला नलगाउने घोषणा नै गरेका थिए । फोहोरमैला व्यवस्थापन समस्या दीर्घकालीन समाधान नभई चुप लाएर नबस्ने र यसका लागि केही महिना समय दिन अनुरोध गरेका थिए । सोहीअनुसार स्थानीय ढुक्क भएका भए । तर, अहिले मेयरबालेनले आफ्नै वाचा भुलेर स्थानीयसँग वार्ता, छलफलसमेत गर्न नचाहेको स्थानीयको आरोप छ ।

यसपटक पूर्वसहमति कार्यान्वयनको चरणमा नपुगुन्जेल चरणबद्ध आन्दोलन गर्ने र फोहोरमैला बोकेका गाडीलाई प्रवेश निषेधगर्ने स्थानीयले वताएका छन् ।