तिलिचो बेस क्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकको उद्धार

232 पटक पढिएको

१५ कार्तिक २०८२, शनिबार १७:३९ सम्पादक: धादिङ न्यूज

मनाङ, १५ कात्तिक, । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका  धादिङका १० बर्षिय बालक सहित ९ जना र अन्य जिल्लाका २ जना गरी ११ जना आन्तरिक पर्यटकलाई शनिबार बिहान ६ बजे सशस्त्र प्रहरीले उद्धार गरेको छ।

यसअघि हिमपातका कारण सो क्षेत्रमा २ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी १५ जना पर्यटक अलपत्र परेको जानकारी प्राप्त भएको थियो। उद्धार टोली पुगेपछि २ चिनियाँ र ११ नेपाली गरी १३ जना मात्र फेला परेका सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकल टोली हिजो कार्तिक १४ गते नै पठाइएको थियो।

शनिबार बिहान उद्धार गरिएको टोलीलाई चामे तर्फ ल्याइँदै गरिएको र उद्धारमा सहभागी फौजले जानकारी दिएको छ। उद्धार गरिएकामध्ये एक जना महिला बिरामी, एक जनाको खुट्टा चोटग्रस्त रहेको र सबै जनाको अक्सिजन लेभल कम रहेको बताइएको छ।

उता, २ जना चिनियाँ नागरिक भने मौसम केही खुलेकोले भ्रमण पूरा गर्ने भन्दै बेस क्याम्पमै रहेका छन्।

समुद्री सतहबाट ४९१९ मिटरको उचाइमा अवस्थित तिलिचो ताल विश्वको अग्लो स्थानमा रहेको तालमध्ये एक हो। यसको अनुपम प्राकृतिक सौन्दर्यले गर्दा यो स्वदेशी तथा विदेशी पर्यटक र पर्वतारोहीहरूका लागि एक प्रमुख गन्तव्य बन्ने गरेको छ । यद्यपि, उच्च हिमाली क्षेत्रमा मौसमको अप्रत्याशित परिवर्तनले गर्दा पर्यटकहरू बेलाबेलामा यस्तै समस्यामा पर्ने गरेका छन् ।

तिहार लगत्तै अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत थ्रोङला पास र तिलिचो गन्तव्य बनाएर आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढेको थियो ।

मंगलबार विहानैदेखि माथिल्लो मनाङमा भारी हिमपात भएपछि पर्यटकहरु प्रभावित भएका हुन् ।

धादिङ गंगाजमुना–५ का रेशु अधिकारी (३९), पार्वती भण्डारी अधिकारी (३४) र आरोन अधिकारी (१०), नीलकण्ठ–३ का अशोककुमार बस्नेत (४४), शिरीषा बस्नेत (४०), इवराज थापा क्षेत्री (४०), इन्द्रकुमारी थापा (३९), नविना थापा (२१) र नवीन थापा (१८) मंगलबार देखि तिलिचो बेस क्याम्पमा अलपत्र परेका थिए ।

त्यस्तै पर्सा वीरगन्जका रिजन मानन्धर (२३) र चितवन भरतपुरका सिजन मैनाली (२३) पनि उनीहरूसँगै थिए ।

र यो पनि पढ्नुहोस

धादिङका ९ सहित १५ जना आन्तरिक पर्यटक तिलिचो बेसक्याम्पमै रोकिए

मनाङमा हिमपात : तिलिचो बेसक्याम्पमा ५०० भन्दा बढी पर्यटक अड्किए