मध्यरातामा काठमाण्डौंका मेयर बालेनको विवादित स्टाटस,आलोचना बढेपछि भयो डिलिट

314 पटक पढिएको

१६ कार्तिक २०८२, आईतवार ०८:०७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १६ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मध्यरातमा विवादित स्टाटस लेखेर पोस्ट गरेको केही बेरमा हटाएपछि सामाजिक सञ्जालमा मार्फत सो कार्यको पक्ष विपक्षमा बहस शुरु भएको छ ।  शनिबार मध्यराति उनले आफ्नो आधिकारिक फेसबुक आईडी मार्फत एउटा विवादास्पद स्टाटस लेखे, जसमा प्रयोग भएका शब्द र सन्देशका कारण अहिले बालेनको स्वास्थ्य अवस्था देखि उनको कार्यक्षमता माथि प्रश्न चिन्ह उठाईएको छ । देशभर राजनीतिक तथा कूटनीतिक बहस समेत शुरु भएको छ ।

बालेनले पोस्ट गरेको स्टाटसमा दुई छिमेकी मुलुक-भारत र चीनसँगै अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गर्दै ती देश र दलहरूमाथि प्रत्यक्ष आरोप र टिप्पणीगरेका थिए।

पोस्टको भाषाशैली आक्रामक देखिएको र कतिपय वाक्यांशले कूटनीतिक मर्यादाभन्दा बाहिर रहेको भन्दै सामाजिक सञ्जालमा  तत्कालै प्रतिक्रिया आउन थालेको थियो।

उनको पोस्ट सार्वजनिक भएको केही मिनेटमै फेसबुक र एक्स (ट्विटर) लगायतका माध्यममा  बालेन शाह ट्रेन्ड हुन थाल्यो। धेरै प्रयोगकर्ताहरूले उनको अभिव्यक्तिलाई “देशको प्रतिनिधि निकायमा बसेको व्यक्तिबाट यस्तो अभिव्यक्ति अस्वीकार्य” भन्दै कडा शव्दमा आलोचना गरेका थिए ।

विवादास्पद स्टाटस पोष्ट भएको लगभग ३० मिनेटपछि बालेनले उक्त स्टाटस डिलिट गरेका थिए । तर त्यसअघि नै धेरैले स्क्रिनसट लिएर सेयर गरिसकेका थिए।
सोही कारण अहिले फेसबुक, एक्स र टिकटकमा उनका शब्दहरू भाइरल बनेका छन्। धेरैले पोस्ट डिलिट गर्नुलाई उनको राजनीतिक चेतनाको कमी , कुनै नसालु पदार्थ सेवन गरेर लेखेको र पोष्ट सार्वजनिक भएपछि चौतर्फी दवाव आएकाले लाज भएर उक्त स्टाटस डिलिट गरेको  अनुमान गरेका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अहिले दुई धारमा बाँडिएका छन्।  एक पक्षले बालेनको सीधा र स्पष्ट बोल्ने स्वभाव भएको भन्दै उक्त विवादित स्टाटसको  समर्थन गर्दै, “कम्तीमा उनले राष्ट्रको स्वाभिमानका कुरा भने” भन्ने कुतर्क गरेका छन्।
अर्को पक्षले भने मेयरको पदमा रहेकाले “राजनीतिक र कूटनीतिक शिष्टाचार नाघेर वालेनले देशकै वेइज्जत गरेको ” भन्दै आलोचना गरेका छन्।

कतिपयले उनको स्टाटसलाई सस्तो लोकप्रियता खोज्ने प्रयास भनेका छन् भने कतिले यो गहिरो असन्तुष्टिको संकेत भएको पनि व्याख्या गरेका छन्।

राजनीति विश्लेषकहरूका अनुसार मेयरजस्तो पदमा रहेकाले व्यक्तिले बोलेका शब्दले आन्तरिक र बाह्य सम्बन्धमा प्रभाव पार्न सक्छ।
कूटनीतिक मर्यादा उल्लङ्घन हुने खालका अभिव्यक्तिले नगर प्रमुखको भूमिकामा नै प्रश्न उठाउने तर्क गरिएको छ।
एक विश्लेषकले भने, “बालेन लोकप्रिय छन्, तर लोकप्रियता र जिम्मेवारीबीचको सन्तुलन गुम्दा त्यसको असर व्यापक हुन्छ।”

बालेन शाहको यो मध्यरातको स्टाटस र त्यसको डिलिट अब सामाजिक सञ्जालमा मात्र होइन, राजनीतिक वृत्तमा पनि चासोको विषय बनेको छ।
कतिले यो घटनालाई “असावधानीपूर्वक प्रयोग गरिएको ” ठानेका छन्।

जे भए पनि, एक मेयरको एक स्टाटसले देशभर यस्तो बहस र विभाजन सिर्जना गर्नु स्वयंमा गम्भीर संकेत हो।

त्यसो त बालेनको स्टाटस विवादित पहिलो पटक भने होइन । यस अघि १८ भदौ २०८० मा पनि वालेनले सिंहदरवार जलाईदिने धम्की दिएर लेखेको स्टाटसले पनि निकै आलोचना खेपेको थियो । त्यो भन्दा पछि पनि उनले विवादित शव्दहरु राखेर स्टाटस लेख्दै आईरहेका छन ।