मोटरसाईकल दुर्घटनामा परि थांक्रेका उत्तम अर्यालको निधन ,गजुरीका राजन श्रेष्ठ घाईते

399 पटक पढिएको

१७ कार्तिक २०८२, सोमबार २१:२२ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको थाक्रे गाउँपालिका-७ सातकिलामा सोमबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

काठमाडौँबाट महादेवबेशी तर्फ जाँदै गरेको बा ७० प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौँतर्फ गइरहेको बा ९७ प २८५२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनापछि काठमाडौँबाट चितवनतर्फ आउँदै गरेको ना ६ ख ३०१३ नम्बरको ट्रकको अगाडिको दाहिने टायरमुनि परेर मोटरसाइकल (बा ७० प १६५१) चालक थाक्रे गाउँपालिका-६ निवासी ६० वर्षीय उत्तम अर्याल को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार मोटरसाइकल ठोक्किएपछि लडेर ग्यास सिलिण्डर बोक्ने ट्रकको चपेटामा परेपछि अर्यालको मृत्यु भएको हो ।

सो दुर्घटनामा गजुरी गाउँपालिका–१ निवासी ३० वर्षीय राजन श्रेष्ठ घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

दुर्घटनापछि फरार रहेका ट्रक चालक बेनीघाटरोराङ गाउँपालिका–५ निवासी ३५ वर्षीय धनबहादुर परियार लाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

अर्याल तत्कालिन भूमेस्थान, थांक्रे र तसर्पु गाविसको प्रतिनिधित्व गर्दै २०४९ सालमा जिल्ला विकास समिति धादिङको सदस्य हुन।

नेकपा एमाले धादिङका जिल्ला सल्लाहकार सदस्य अर्याल खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ धादिङका अध्यक्ष समेत हुन् । अर्यालको निधनले धादिङको राजनैतिक तथा सामाजिक क्षेत्रमा अपूरणिय क्षती पुगेको बताईएको छ ।