सहारा महिला सहकारीको २६ औं बार्षिक साधारण सभा सम्पन्न
432 पटक पढिएको
धादिङ-धादिङबेसीस्थित सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारण सभा मिति २०८२ कार्तिक २२ गते शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष पार्वती राई खाँडको अध्यक्षतामा नीलकण्ठ–३, धादिङबेसीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयको प्राङ्गणमा साधारण सभा सम्पन्न गरिएको हो।
धादिङबेसीको शान्तबजारमा सुविधासम्पन्न कार्यालयसहित महिला नेतृत्वमा सञ्चालित सहारा महिला सहकारी धादिङकै अग्रणी सहकारी संस्थाको रूपमा परिचित छ। सुशासन, पारदर्शिता र सदस्य सेवामा उत्कृष्ट काम गर्दै आएको यस सहकारीले वि.सं. २०७३ सालमा नेपालभरिको उत्कृष्ट महिला बचत तथा ऋण सहकारीको सम्मान पाएको थियो। त्यस्तै २०१७ मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघद्वारा संचालित ‘प्रोबेशन ब्राण्ड’ प्राप्त गर्न पनि संस्था सफल भएको छ।
गत असार मसान्तसम्म सहकारीको वासलात रु. २६ करोड ४५ लाख ४३ हजार ६८४ पुगेको संस्थाले जनाएको छ। कुल ३ हजार ४० सक्रिय शेयर सदस्य रहेको यस सहकारीमा रु. २ करोड २८ लाख ५५ हजार २ सय शेयर पूँजी संकलन भएको छ। सदस्यहरूबाट रु. १८ करोड ८७ लाख १६ हजार ९३७ बचत संकलन भएको छ भने जगेडा कोषमा रु. १ करोड ३२ लाख ९९ हजार १८२ रहेको कोषाध्यक्ष खिलकुमारी पोखरेलले साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।
वित्तीय कारोबारसँगै सहकारीले सामाजिक सुरक्षामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। मृत्युमा रु. ३० हजारसम्म, औषधोपचारमा रु. २५ हजारसम्म, सुत्केरी पोषण सहयोगलगायतका सेवा प्रदान गर्दै आएको सचिव भगवती तिवारीले साधारण सभामा जानकारी गराउनुभयो । सदस्यहरूको आर्थिक स्थिति सुधार, वित्तीय साक्षरता र परामर्श सेवा नियमित रूपमा सञ्चालन हुँदै आएको प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडीले बताउनुभयो ।
साधारण सभाको अवसरमा सहकारीको उद्देश्यअनुसार योगदान पुर्याउने ४८ जना शेयर सदस्यलाई सम्मान गरिएको छ। त्यस्तै २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने ९ जना बालबचतकर्तालाई प्रशंसापत्र र रु. १००५ नगदसहित सम्मान गरिएको संस्थाले जनाएको छ।







