भारत–दिल्ली नजिकै ३५० किलो विष्फोटकसहित हतियार बरामद, दुई चिकित्सक पक्राउ
394 पटक पढिएको
काठमाण्डौं । भारतको राजधानी दिल्ली नजिकै ठूलो मात्रामा विष्फोटक र हतियार बरामद भएको छ। जम्मु–कश्मीर प्रहरीले हरियाणाको फरीदाबाद क्षेत्रबाट करिब ३५० किलो अमोनियम नाइट्रेट, एक एके फोर्टि सेभेन असल्ट राइफल, २० टाइमर, पिस्तोल, तीन म्यागजिन र वाकी–टकी सेट बरामद गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो बरामद उत्तर प्रदेशको सहारनपुर बाट पक्राउ परेका काश्मिरी चिकित्सक डा. आदिल अहमद राथरको बयानका आधारमा गरिएको हो। राथरलाई केही हप्ता अघि श्रीनगरमा जैश–ए–मोहम्मद समर्थनका पोस्टर टाँसेको आरोपमा पक्राउ गरिएको थियो।
अनुसन्धानका क्रममा डा. राथरले फरीदाबादमा कार्यरत चिकित्सक डा. मुजम्मिल शकीलसँग मिलेर विष्फोटक र हतियार लुकाएको बयान दिएपछि प्रहरीको टोलीले फरीदाबादमा छापा मारेको थियो। पुलवामाका शकील फरीदाबादस्थित अल–फलाह अस्पतालमा कार्यरत थिए। अहिले दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
फरीदाबाद प्रहरी आयुक्त सतेन्द्रकुमार गुप्ताका अनुसार बरामद गरिएको विष्फोटक अत्यन्त खतरनाक प्रकृतिको छ र यसको प्रयोग “ठूलो स्तरको आतङ्कवादी गतिविधि” का लागि हुनसक्ने अनुमान छ। उनका अनुसार राजधानी नजिकै यति ठूलो मात्रामा विष्फोटक भेटिनु स्वयं गम्भीर सुरक्षा चुनौती हो।
यो घटनाको सुराकी श्रीनगरमा अक्टोबर २७ मा देखिएका जैश–ए–मोहम्मद समर्थनका पोस्टरहरूसँग जोडिएको बताइएको छ। सिसिटिभी फुटेजमार्फत पहिचान गरेपछि प्रहरीले डा. राथरलाई सहारनपुरबाट पक्राउ गरेको थियो। पछि उनको अनन्तनाग मेडिकल कलेजको लॉकरबाट एके फोर्टि सेभेन र गोली–बारुद समेत बरामद भएको थियो।
दुवै चिकित्सकमाथि अहिले आर्म्स एक्ट र आतंकवाद निवारण ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। भारतीय प्रहरीले अहिले विष्फोटक कसरी फरीदाबाद र दिल्ली नजिक ल्याइयो भन्ने प्रश्नमा केन्द्रित हुँदै अनुसन्धानलाई थप तीव्र बनाएको छ।
यस घटनाले भारतको सुरक्षा संयन्त्रमा उच्च सतर्कता र नयाँ चिन्ता थपेको छ।







