आज विश्व निमोनिया दिवस मनाइँदै
309 पटक पढिएको
काठमाडौँ । आज विश्व निमोनिया दिवस मनाइँदैछ। निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि हरेक वर्ष नोभेम्बर १२ मा यो दिवस मनाइने गरिएको हो।
यस वर्षको विश्व निमोनिया दिवसको नारा ‘हरेक सासको सुरक्षा: सबैका लागि बलियो फोक्सो’ रहेको छ।
निमोनिया फोक्सोको संक्रमणबाट हुने एक गम्भीर रोग हो। यसमा फोक्सोका कोषहरू सुन्निने हुँदा सास फेर्न कठिनाइ हुन्छ। नेपालमा बाल मृत्युदर बढाउने प्रमुख कारणमध्ये निमोनिया पनि एक हो। भाइरस, फङ्गस वा ब्याक्टेरिया — जुनसुकै संक्रमणबाट निमोनिया हुन सक्छ। सबै उमेरका मानिसमा देखिने भए पनि बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिम समूहमा पर्ने चिकित्सकहरू बताउँछन्। विशेषगरी पाँच वर्षमुनिका बालबालिका, तीमध्ये पनि दुई वर्षमुनिका बच्चा बढी प्रभावित हुने गरेको पाइएको छ।
चिसो मौसम सुरु भएपछि निमोनियाको जोखिम बढ्छ। सामान्य रुघाखोकीलाई बेवास्ता गर्दा अवस्था जटिल बन्दै निमोनियामा परिणत हुने चिकित्सकहरूको भनाइ छ। संक्रमण भएपछि फोक्सोका हावा थैलीहरूमा सुन्निने (इन्फ्लेमेशन) देखिन्छ, जसले शरीरमा अक्सिजन प्रवाहमा बाधा पुर्याउँछ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हरेक वर्ष निमोनियाको रोकथाम र उपचारमा विशेष ध्यान दिन आग्रह गर्दै आएको छ। न्यूमोकोकल र इन्फ्लुएन्जा खोपसहित अन्य सुरक्षात्मक उपाय अपनाए संक्रमण नियन्त्रणमा मद्दत पुग्ने बताइन्छ। खोकी लाग्ने, छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा समस्या, छाती तथा कोखा दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ।
नेपालमा कुपोषण, चिसो वातावरण, धूवाँ–धुलो र प्रदूषण निमोनिया बढ्ने मुख्य कारण मानिन्छ। जन्मेदेखि ६ महिनासम्म स्तनपान गराउने, पोषिलो खानेकुरा खुवाउने र बालबालिकालाई धूवाँधुलोबाट सुरक्षित राखे निमोनियाको जोखिम धेरै घट्ने चिकित्सकहरूको सुझाव छ। साथै सरकारले सिफारिस गरेका सबै खोप समयमै लगाउन पनि उनीहरूको आग्रह छ।
सन् २०२१ का तथ्याङ्कअनुसार विश्वभर एक वर्षमा करिब २२ लाखको मृत्यु निमोनियाका कारण भएको छ। तीमध्ये ५ लाख बालबालिका र १ लाख ५२ हजार नवजात शिशु रहेका छन्।








https://shorturl.fm/Iq2b5