धादिङमा फरार दुई प्रतिवादी तथा क्रिस्टल क्वार्ट्जसहित एक जना पक्राउ

308 पटक पढिएको

८ मंसिर २०८२, सोमबार २२:१९ सम्पादक: धादिङ न्यूज

धादिङ — विभिन्न मुद्दामा अदालतले कैद सजाय तोके पनि फरार रहेका दुई जनालाई धादिङ प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ। जिल्लाका फरक–फरक स्थानबाट पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीका अनुसार सिद्धलेक गाउँपालिका–७ का ३९ वर्षीय रकम बहादुर मगर लागुऔषध (गाँजा) मुद्दामा २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्थामा फरार रहेका थिए। उनलाई नियन्त्रणमा लिएर अदालत बुझाइएको हो।
त्यस्तै, थाँक्रे गाउँपालिका–२ का ३७ वर्षीय रामचन्द्र भनिने चन्दन बानियाँलाई अभद्र व्यवहार मुद्दामा फरार रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

उता, जिल्ला प्रहरी कार्यालय धादिङले अवैध रूपमा क्रिस्टल क्वार्ट्ज ढुंगा ढुवानी गरिरहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। आईतबार नेत्रावती डबजोङ गाउँपालिका–५ स्थित टोड्के बजार क्षेत्रमा गस्तीमा खटिएको  प्रहरी  टोलीले शंकाको  आधारमा एक यात्रुबाहक जिप रोकेर खानतलासी गर्दा क्वार्ट्ज फेला परेको हो।

प्रहरीका अनुसार रुवीभ्याली गाउँपालिका–१ का ३६ वर्षीय कमल तामाङले बोकेको झोला जाँच गर्दा करिब २५ किलो जति क्रिस्टल क्वार्ट्ज भेटिएको थियो। बरामद सामग्रीसहित तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको प्रहरीले जनाएको छ।