एमालेका महिला नेतृहरू ईश्वर पोखरेलको पक्षमा, ओली लाई ‘विश्राम’को सुझाव

239 पटक पढिएको

२३ मंसिर २०८२, मंगलवार १८:३९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, २३ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व परिवर्तनको माग तीव्र बन्दै गएको छ। मंगलबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा पार्टीका वरिष्ठ महिला नेतृहरू खुलेरै ईश्वर पोखरेलको पक्षमा उभिएका छन्।

पोखरेललाई समर्थन जनाउने नेतृहरूमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे, केन्द्रीय सदस्यहरू उषाकिरण तिम्सेना, शर्मिला कार्की, रचना खड्का र सरिता न्यौपानेसमेत रहेकाछन्। उनीहरूले पार्टीलाई “लोकतान्त्रिक पद्धतिमा अगाडि बढाउन र नेतृत्वको नयाँ सम्भावना खोल्न” पोखरेलको समूहलाई साथ दिने घोषणा गरेका हुन्।

कार्यक्रममा नेतृहरूले वर्तमान अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा पार्टीभित्र प्रश्न उठाउन नदिने वातावरण बनेको आरोप लगाए।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्षका कदमहरूबारे समीक्षा र आलोचना गर्न नपाइने प्रवृत्ति गलत भएको बताइन्। उनले कटाक्ष गर्दै भनिन्,
“अध्यक्ष ओली आमाको कोखबाट जन्मेको हुन् कि हैनन्? प्रश्न त उठ्नैपर्छ।”

उनका अनुसार एमाले अध्यक्ष व्यक्तिको होइन, लाखौँ कार्यकर्ताको पार्टी हो। शाक्यले पार्टीभित्रको निर्णय प्रक्रियालाई समावेशी, लोकतान्त्रिक र पारदर्शी बनाउन नेतृत्वको शैली फेरिनुपर्ने बताइन्।

नेतृ डा. विन्दा पाण्डेले संगठनभित्र ‘पुरुषले मात्र निर्देशित गर्ने’ संस्कृतिको अन्त्य आवश्यक रहेको बताइन्।
उनले नवौँ महाधिवेशनबाट पारित महिला हिंसासम्बन्धी प्रस्ताव कार्यान्वयन नभएको उल्लेख गर्दै ११औँ महाधिवेशनमा यसलाई प्रमुख एजेन्डाका रूपमा उठाउने प्रतिवद्धता जनाइन्।

अध्यक्ष ओलीको नेतृत्वले पार्टीको छवि नै प्रभावित हुन थालेको बताउँदै पाण्डेले भनिन्,“हामी हाम्रो अध्यक्षलाई यसभन्दा धेरै धक्का लागेको हेर्न चाहँदैनौं। अब ओली कामरेड सहज हिसाबले नेतृत्वबाट पर बस्नुस्, निकास दिनुस्, कार्यकर्ताबीच चिरा पर्ने काम नगर्नुस्।”

महिला नेतृहरूको यस खुलेआम अभिव्यक्तिले एमालेभित्र नेतृत्व परिवर्तनको माग अब खुला बहसको विषय बनेको संकेत दिएको छ।
महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको सत्ता समीकरण, संगठन सुधार, र लैंगिक समानताको मुद्दा—यी तीनै एजेन्डा अब केन्द्रमा उत्रिएका छन्।


OK365vv, what’s the deal? Are they just trying to confuse us with all these similar names? Anyone know if it’s connected to the other OK### platforms? Help a bro out! ok365vv