‘नेपाल मानवअधिकार वर्षपुस्तक २०२६’ पूर्वसमीक्षा तथा युवा मानवअधिकार रक्षक संजाल गठन
247 पटक पढिएको
धादिङ–७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा धादिङबेसीमा ‘नेपाल मानवअधिकार वर्षपुस्तक २०२६’ को प्रकाशनपूर्व समीक्षा तथा जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक संजाल गठन गरिएको छ। नेपाल पत्रकार महासंघ, गैसस महासंघ, इन्सेक, रोयम नेपाल, आइसिडिसि नेपाल, फोकस नेपाल, प्रयास नेपाल, सहयात्री समाज नेपाल, मानवअधिकार एलायन्स, ग्लोबल नेपालको संयुक्त आयोजनामा तथा नीलकण्ठ नगरपालिका लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मूल आयोजक समितिको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख आतिथ्य जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले प्रदान गर्नुभएको थियो।
कार्यक्रममा ‘नेपाल मानवअधिकार वर्षपुस्तक २०२६’ का लागि धादिङमा संकलन गरिएका घटनाको विवरण इन्सेक प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ धादिङका सीताराम अधिकारीले प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत विवरणअनुसार चालू वर्षमा जिल्लामा ५२ वटा मानवअधिकार–उल्लङ्घनका घटनामा ५९ जना पीडित परेका छन्। कारागारमा मृत्यु भएका तीन जना, सात जना घाइते, तीन जनाको हत्या, दुई जना सञ्चारकर्मीमाथि धम्की, पाँच जनासँग सम्बन्धित बलात्कार घटना, एक बलात्कार पीडितको मृत्यु, तीन जना बलात्कार प्रयासका पीडित, १६ जना घरेलु हिंसाका पीडित, १२ बालिका बलात्कारका घटनाका पीडित र सात बालिका बालयौन दुरुपयोग/दुरव्यवहारका पीडित रहेका इन्सेकले प्रतिवेदनमा उल्लेख गरेको छ। जातीय विभेदको एउटा घटना पनि प्रतिवेदनमा समावेश गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख कूलमान विश्वकर्माले नागरिकको आधारभूत अधिकार नै मानवअधिकार भएको बताउँदै त्यसको प्रत्याभूति गर्न राज्यले मात्र होइन, नागरिक स्वयं पनि सशक्त बन्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले बालबालिका, लैङ्गिक, जातीय पहिचान भएका समुदाय, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका हकहितका लागि सामूहिक रूपमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले स्थानीय तहले लैङ्गिक हिंसा पीडित राहत कोष, अपाङ्गता तथा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा जस्ता कार्यक्रममार्फत मानवअधिकार मित्रवत् सेवा विस्तार गरिरहेको बताउँदै आगामी दिनमा झन् प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले मानवअधिकार संरक्षणका लागि सरकारले बनाएका संरचनाहरूको उपयोग गर्न आग्रह गर्दै विशेषतः महिलासम्बन्धी उजुरीमा प्रारम्भिक प्रमाणका रूपमा निवेदनलाई नै आधार मानेर गम्भीरतापूर्वक अनुसन्धान अघि बढाइने बताउनुभयो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक सुमित खड्काले महिलामाथि हुने कुनै पनि हिंसा तथा यौनजन्य घटनामा शून्य सहनशीलता अपनाइने स्पष्ट पार्दै वर्षपुस्तकमा समेटिने घटनाहरू यथार्थ रूपमै उल्लेख गरिदिन अनुरोध गर्नुभयो।
कार्यक्रममा गैसस महासंघका अध्यक्ष तोलाकुमारी पाठक, महिला अधिकार रक्षक गायत्री खतिवडा, प्रेरणा बस्नेत, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, शरिशरण धिताललगायत वक्ताहरूले मानवअधिकार र सामाजिक न्यायका विविध आयाममा संयुक्त प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै अवसरमा १४ सदस्यीय जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक संजाल गठन गरिएको छ। स्नेह श्रेष्ठको अध्यक्षतामा बनेको संजालमा उपाध्यक्षमा दिपा श्रेष्ठ, सचिवमा करिस्मा परियार तथा आकाश लम्साल, सीता शाक्य, भुपेन्द्र लम्साल, रोशन थापा, कौशिला भट्टराई, रयिबा खातुन, रंजिता परियार, विपना पोखरेल, प्रतिमा अर्याल, प्रगति अर्याल र रस्मी श्रेष्ठ सदस्य चयन भएका छन्। संजालले जिल्लामा मानवअधिकारका मुद्दामा पैरवी गर्ने तथा मानवअधिकार रक्षकहरूको संरक्षणमा क्रियाशील रहने लक्ष्य लिएको छ।








Heard some whispers about 234win. Decided to see what the buzz is all about. Seems legit! Gonna try my hand at a few games. Wish me luck, y’all! Join the fun: 234win