आज डिसेम्बर ११ विश्वभर अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै

434 पटक पढिएको

२५ मंसिर २०८२, बिहीबार ०७:२७ सम्पादक: धादिङ न्यूज

काठमाडौं।आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस विभिन्न कार्यक्रमहरू गरी विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको पहलमा हरेक वर्ष डिसेम्बर ११ मा पर्वतीय क्षेत्रको संरक्षण, प्रवद्र्धन र महत्त्वबारे जागरूकता बढाउन यो दिवस मनाइँदै आएको छ।

दिवसका अवसरमा पर्यटन क्षेत्रसँग सम्बन्धित संघ–संस्था तथा समूहहरूले विभिन्न कार्यक्रम आयोजना गर्दै छन्। पर्वतीय भू–भागको संरक्षण, चुनौती र अवसरबारे व्यापक बहस–विमर्श गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाइन्छ।
यस वर्षको नारा“पानी, खाना र जीविकोपार्जनका लागि हिमनदी र पहाड महत्त्वपूर्ण छन्”-राखिएको छ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ तीव्रगतिमा पग्लिँदै जाँदा हिमालहरूको अस्तित्व नै संकटमा परेको पर्वतारोहकहरूको बुझाइ छ। साथै पर्वतारोहीहरूको उचित अनुगमन र व्यवस्थापनको अभावले हिमाल क्षेत्रमा फोहोर बढ्दै गइरहेको र यसले वातावरणीय प्रदूषण चर्काएको वातावरणविद्हरू बताउँछन्।

विश्वका करिब २५ प्रतिशत भू–भाग पर्वतीय क्षेत्रले ओगटेको छ भने विश्व जनसंख्याको झण्डै २० प्रतिशतमानिस यही भू–भागमा बसोबास गर्ने गर्छन्। पर्वतीय स्रोत, वातावरणीय सन्तुलन र मानव जीवनका लागि यी क्षेत्र अत्यन्त महत्वपूर्ण मानिन्छन्।